अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असारे विकास : सरकारले दियो एकै दिन ४१ अर्ब भुक्तानी 

असारे विकास : सरकारले दियो एकै दिन ४१ अर्ब भुक्तानी 


काठमाडौँ-सरकारले एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ । यसअघि सरकारले दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको थियो । 

आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था भएकाले आइतबार हतारहतारमा त्यति रकम भुक्तानी दिइएको हो ।

आयोजनाका ठेकेदारसँग मिलेमतोमा हिसाब मिलान गर्न अन्तिम दिन मात्र भुक्तानी दिने आरोप लाग्दै आएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीको पालनामा सरकार र मातहतका निकायलाई विगतदेखि नजरअन्दाज गर्दै आएको छ ।

आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा नियमावलीले आर्थिक वर्षको अन्तिम साता बजेट भुक्तानी दिन नहुने उल्लेख गरिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च ११ खर्ब ७६ अर्ब रुपैयाँ बराबर थियो । आइतबार बजेट खर्चको अन्तिम दिनसम्म आइपुग्दा खर्च १३ खर्ब ३३ अर्ब ७ करोड ४२ लाख रुपैयाँ नाघेको छ ।

असारमा मात्रै सरकारले १ खर्ब ६० अर्ब १ करोड ९२ लाख रुपैयाँ बजेट भुक्तानी दिएको छ । जेठमा पनि सरकारले १ खर्ब ३० अर्ब ९६ करोड ३३ लाख भुक्तानी दिएको थियो । गत वैशाखमा भने १ खर्ब ४६ अर्ब ९५ करोड भुक्तानी दिएको थियो । सरकारले चैतमा भने १ खर्ब १९ करोड भुक्तानी दिएको थियो ।