अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद साँवाको जन्मदिन अनाथलयमा

सांसद साँवाको जन्मदिन अनाथलयमा



काठमाडौं- सेवा नै ठूलो धर्म हो यी भनाइहरु विस्तारै हराउँदै गएका छन् । अझ भन्ने हो भने सेवा भावले काम गर्नेहरु भेट्न मुस्किल हुन्छ । हो, सेवा जस्तो ठूलो धर्म अरु केही हुँदैन । मन्दिरमा कुँदेर राखिएका मुर्तिलाई भगवान मान्ने तर गरीब र असाहयहरुलाई हेय भावले हेर्ने चलन पनि हाम्रो समाजमा कम छैन । सेवाभाव भन्ने कुरा मनबाट जागृत हुने कुरा पनि हो ।
अझ पछिल्लो समय हाम्रो समाज सुविधाभोगी हुँदै गएको छ । बिबाह, जन्मदिन जस्ता पार्टीमा लाखौँ रुपैयाँ खर्च गर्ने अनि गरीब र असाहयहरुलाई हेयभावले हेर्ने त्यो सोँचमा परिवर्तन आवश्यक छ । अझ नीति निर्माण तहमा रहेकाहरुबाट यस्तो कार्यको सुरुवात गर्ने हो भने त्यो उदाहरणीय पनि बनिदिन्छ ।
आज झापा क्षेत्र नम्बर–४ बाट दुई पटक सांसद पदमा निर्वाचित एलपी साँवा लिम्बूले आफ्नो जन्मदिनका दिन गरिब, असाहय तथा सहाराविहीनहरुको आड, भरोसा भनेको पवित्र सेवा समाजमा पुगेर त्यहाँका बालबालिका र बृद्ध–बृद्धाहरुसँग जन्मदिन मनाउनु भएको छ । काठमाडौंँको घन्चमञ्चलाई छिचोल्दै टोखा चण्डेश्वरी मन्दिर पार गरेर बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–४ मा रहेको पवित्र सेवा समाजमा आफ्नो जन्मदिन मनाउन साँवा पुग्दा त्यहाँ रक्त पसिना वगाई तन,मन, धन लगाई निर्माणको बेला छ है यो आफ्नै रंगले आफ्नै ढंगले भन्ने गीत गुञ्जिरहेको थियो ।
साँवा त्यहाँ पुग्दा समाजकी प्रमुख दिक्षा चापागाईँसहित बालबालिकाले स्वागत गर्नुभयो । त्यहिबेलासम्म त्यहाँ कोही बालबालिका खेलिरहेका थिए भने कोही बालबालिका आफ्नै तालमा रमाइरहेका थिए । त्यही परिसरमा कर्णाली प्रदेशको हुम्ला सिमकोटबाट पनि तीन दिनको कठिन यात्राबाट पुगिने विकट गाउँबाट जन्मिएकै दिन ल्याएकी अनुश्रिया नेपाल झोलुङ्गोमा त्यहि आश्रममा खेलिरहेकी थिइन । उनको नाम त्यहीँ आश्रममा ल्याएपछि अनुश्रिया राखिएको रहेछ । साँवा दम्पतीले ती बालिकालाई एकछिन त्यहि झोलुङ्गोमा हल्लाउनुभयो ।
त्यतिबेलासम्म जन्मदिन मनाउने तयारी भैसकेको थियो । सबै बालबालिकाहरु साँवाको छेउमा उभिए । साँवाले पनि केक काट्नुभयो र सबैलाई पालैपालो खुवाउनुभयो । त्यतिबेलासम्म खानाको तयारी भैसकेको रहेछ । साँवा आफै भान्से लाग्नुभयो । उहाँकी पत्नी मनिषा साँवा र समाजका प्रमुख चापागाईँले पनि साँवासँगै भान्सामा सहयोग गरेर खाना खुवाउनुभयो ।
फरक खालको जन्मदिन चलिरहेका बेला हामीले उक्त आश्रमकी प्रमुख चपागाईँसँ कुराकानी गर्यौ । चपागाईँ पनि निकै खुशी देखिनुहुन्थ्यो । जन्मदिनमा ठूला पार्टी गरेर गरिने खर्च जोहो गर्दै यसरी आश्रममा आएर गरेको सेवाभावले खुशी लागेको उहाँले बताउनुभयो ।
चापागाईँसँग कुराकानी गर्दै गर्दा त्यहि आश्रममा विगत १५ वर्षदेखि बस्दै आउनु भएकी टुकादेवी दाहाल भक्कानिदैँ नजिक आउनुभयो । चापागाईले दाहालको आँसु पुछ्दै गरेको दृष्य निकै मर्मस्पर्शी देखिन्थ्यो ।
साँवाले पनि सेवा भुलेर कताकता लाग्ने चलन बढेको भन्दै आफ्नो जन्मदिनका दिन यस्तो सेवा गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
सावाँसँग कुराकानी गर्दै गर्दा त्यही आश्रममा हुर्किएका आशा राई, ऐश्वर्या अधिकारी र अभिलाषा नेपाल कलेज पोशाकमा देखिए । उनीहरु लिंकन कलेजमा प्सस टुमा अध्ययनरत रहेछन् । १, डेढ वर्षको उमेरदेखि त्यहिँ बसेर कलेज पढ्ने भएका तीनै जनाले सबैथोक त्यही आश्रम भएको बताए । राईको लयर र अधिकारी र नेपालले समाजसेवी बन्ने लक्ष रहेको सुनाए ।