अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिपत व्यवस्थापनको पूर्व तयारीमा जुट्न एमाले झापाका अध्यक्ष कार्कीको आग्रह

बिपत व्यवस्थापनको पूर्व तयारीमा जुट्न एमाले झापाका अध्यक्ष कार्कीको आग्रह


बिर्तामोड-नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तिलाई आह्वान गर्नुभएको छ। 

पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपील प्रकाशन गरेर उहाँले पार्टीका सम्पूर्ण जनसंगठनहरु, पार्टीका पालिका तथा वडा कमिटीहरु, तत्तत् क्षेत्रमा बसोबास गर्ने नेता नेतृत्वगण समेतलाई चनाखो रही बिपत व्यवस्थापनको तयारीका लागि आवश्यकता अनुसार स्थानीय बिपत ब्यवस्थापन समिति गठन गर्न पनि अनुरोध गर्नुभएको छ।

स्थानीय प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीजस्ता सामाजिक संघ-संस्थाहरुसँग सहकार्य गरी सम्भावित विपदको ब्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवाला सबैमा विशेष अपील र अनुरोध गरिएको अपीलमा उल्लेख छ।
यही असारको पहिलो दुई दिन पूर्वी पहाडी जिल्लाहरुमा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति चिन्ता ब्यक्त गर्दै अध्यक्ष कार्कीले झापा जिल्ला कमिटीको तर्फबाट उक्त घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सो घटना पछि वेपत्ता भएका मानिसहरुको खोजीकार्य जारी राख्न, राहत र उद्दारको कार्यमा निरन्तर जुटिरहन सबैमा आह्वान गर्दै निजहरुको परिवारजनमा धैर्यधारणका लागि उहाँले अपील पनि गर्नुभएको हो।

झापा जिल्लाको भूगोलका कारण मनसुनी वर्षातको समयमा कतै जलमग्न हुने, पानीको निकास नभएका समथर ठाउँका घरहरु डुबानमा पर्ने, नदी–खोला–खोल्साहरुमा पानीको बहाब धेरै हुँदा किनाराको जमिन कटान हुने समस्याबाट झापाबासीहरु सधैं प्रताडित रहेको उहाँको बुझाई छ ।

यो वर्ष पनि विगत वर्षहरुमा जस्तै नहोला भन्न सकिन्न । कतिपय ठाउँमा डुबानको समस्या सुरु भइसकेको छ। झापाको भूगोल भएर बग्ने ठूला नदी र खोलाहरु कनकाई, मेची, रतुवा, मावा, बिरिङ्ग, टाङ्गटिङ, निन्दा, अन्दुवा, घाग्रा, कमल आदिले यो वर्ष पनि हामीमा प्राकृतिक विपत्ती ल्याउन सक्ने सम्भावना कायमै रहेकाले सजग रहन उहाँको आग्रह छ ।

विगत वर्ष झैं हुनसक्ने प्राकृतिक विपत्तीबाट धनजनको क्षति हुन नदिन जिल्लास्थित सम्बन्धित सरकारी निकायहरु तथा स्थानीय सरकारहरुलाई सचेत रही आवश्यक पूर्वतयारी गर्न नेकपा (एमाले) झापा जिल्ला कमिटीको तर्फबाट अपीलमार्फत अनुरोध गरिएको हो ।