कास्की-कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका–३ पोल्याङमा बिहान ७ः४८ ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका–६, भोर्लेटारका २३ विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते हुनु भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँका भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर रहेको उहाँले बताउनु भयो ।
मध्यनेपाल गाउँपालिका-६ का वडाध्यक्ष विष्णुभक्त पौडेलका अनुसार विवेक र दीपेन्द्र सहोदर दाजुभाइ हुन्। ‘विवेकको मृत्यु भइसकेको छ, उहाँको भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर छ,’ उहाँले भन्नुभयो। बसका चालक रूपा गाउँपालिकाकै विशाल गुरूङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनु भयो ।





प्रतिक्रिया