अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नरम स्वभावका गुरु बरालले बिचौलिया विरुद्धको आन्दोलनको निर्णयबाट बागमती इन्चार्जको जिम्मेवारी सुरु गर्ने

नरम स्वभावका गुरु बरालले बिचौलिया विरुद्धको आन्दोलनको निर्णयबाट बागमती इन्चार्जको जिम्मेवारी सुरु गर्ने


काठमाडौं- नेकपा एमाले बागमती प्रदेशका हालैमात्र चयन हुनु भएका गुरु बरालले जिम्मेवारी सम्हालेर पार्टी कामलाई अघि बढाउन थाल्नु भएको छ । हिजो बागमती प्रदेश कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितीमा प्रदेश इन्चार्जको जिम्मेवारी ग्रहण गरेपछि बरालले आजैबाट कामलाई तिव्रता दिन थाल्नुभएको हो ।
जिम्मेवारी ग्रहणका क्रममा बरालले देशको संघीय राजधानी समेत भएको बागमती प्रदेश एमालेको ऐतिहासिक किल्ला समेत भएको स्मरण गर्दै बागमती र खासगरी काठमाडौं उपत्यकामा एमालेको साख फर्काउन आफू दृढ रहेको बताउनुभएको छ ।
बरालका अनुसार आज अखिल नेपाल किसान महासंघका नेताहरुसँग भेटघाट गरेर कृषि बिचौलिया र रासायनिक मलको अभावका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ । ‘कालिमाटीको कृषी तथा फलफूल थोक बजारमा बिचौलियाको बिगबिगीले किसानहरुले उत्पादनको उचित मूलय पाएका छैनन्’ बरालले भन्नुभयो ‘त्यसका विरुद्ध सरकारलाई दबाब दिन आज बैठक बसेर आन्दोलन र धर्नाका कार्यक्रम घोषणा गरिनेछ ।’
बागमती पार्टी कार्यालयले दिएको जानकारी अनुसार किसानले मध्य साउनसम्ममा पनि रासायनिक मल नपाउँदा उत्पादनमा भारी क्षती हुने समस्यामा सरकार बेखबर जस्तो बनिरहेकोले त्यसका विरुद्ध पनि आन्दोलनको तयारी छ ।
मदन भण्डारीका विश्वास पात्र बराललाई मोरङ कार्यक्षेत्रबाट बागमतीको इन्चार्जको जिम्मेवारीमा बढुवा गरिएको छ । पार्टीका कामलाई मसिनो गरी हेर्ने र विष्लेषण गर्न सक्ने क्षमताका कारण बागमतीको जटिल साँगठनिक अवस्थालाई मजबुद बनाउन जिम्मेवारी दिइएको एमाले वृत्तमा चर्चा छ । उपमहासचिव विष्णु रिमालले अस्थायी रुपमा संयोजन गरिरहको यो जिम्मेवारी पार्टीका पदाधिकारी तहकै नेतालाई तोकिएला भन्ने कार्यकर्ताहरुले अनुमान गरेका थिए । तर स्थायी कमिटी सदस्य बराललाई पार्टीको सचिवालय बैठकले यो जिम्मेवारी दिएको छ । एमालेले सातवटा प्रदेशमा इन्चार्जको जिम्मेवारी दिएका नेतामा गुरु बरालमात्र स्थायी कमिटी सदस्य हुनुहुन्छ । अरु सबै पदाधिकारीहरु छन् ।
बरालले यो बेलासँग कुरा गर्दैै आफू एमालेको संगठन बिस्तारका लागि जुनसुकै जिम्मेवारी र भूगालमा गएर काम गर्न पनि तयार रहेको बताउनुभएको छ । ‘मेरा लागि यो नौलो जिम्मेवारी होइन’ बरालले भन्नुभयो ‘एमालेको संगठन विस्तारमा म मिहिन ढंगले लाग्छु । मातहतका नेता कार्यकर्तालाई पनि त्यसैगरी परिचालन गर्छ । म नतिजा दिन्छु । अरुबाट पनि नतिजाको अपेक्षा गर्दछु । ’
बरालका अनुसार भोली बागमती पार्टी कार्यालयको बैठक बसेर विभिन्न जिल्लाका कार्यक्रमहरु तय गर्नेछ । पूर्व निर्धारिता कार्यक्रमहरुमा साउन ७ गते देखि आफ्नो सहभागिता रहने उहाँले बताउनुभयो । बरालका अनुसार साउन ७ गते नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवशका दिन उहाँको जन्मस्थल रामेछापको भंगेरीमा र मन्थलीमा आयोजना हुने कार्यक्रममा बरालले सहभागिता जनाउनुहुनेछ । यसैगरी ८ गते सिन्धुलीमा किसानका समस्याका विषयमा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको छ । यसैगरी साउन १० गते मकवानपुरमा आयोजना हुने जिल्ला कमिटीको बैठकमा इन्चार्ज बरालको उपस्थिती रहने तय भएको छ ।