अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस बैठकमा आरजुको टिप्पणी: महामन्त्रीको प्रतिवेदन एनजीओको रिपोर्टजस्तो

कांग्रेस बैठकमा आरजुको टिप्पणी: महामन्त्रीको प्रतिवेदन एनजीओको रिपोर्टजस्तो


काठमाडौँ-नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन दूरगामी खालको नदेखिएको टिप्पणी गर्नु भएको छ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा आज चौथो दिन सुरूमै आरजुले सम्बोधन गर्नुभयो । उहाँले कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्नेमा त्यो नभएको बताउनु भयो।

बैठकको पहिलो दिन महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजनाप्रति आरजुले प्रश्न उठाउनु भएको हो।

उहाँले भन्नुभयो, ‘देश कतातिर जाने राजनीति कतातिर जाने दूरगामी र देशलाई हाँक्ने केही देखिएन। म अचम्भित भएँ महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज आउँछ होला सोचेको थिएँ । तर, एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?’

राणाले पार्टीका मन्त्रीहरूबाट पनि अपेक्षित काम उठ्न नसकेको टिप्पणी गर्नु भएको छ। घोषणापत्रलाई चुनावमा मात्र सीमित गर्न नहुने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘हाम्रा मन्त्रीहरू प्रिपिअर नै हुनुहुन्छ। सिक्दासिक्दै नबुझी मन्त्रालय गइसक्छ। पार्टीभित्र मन्त्रालयको लिंक हुनुपर्‍यो । घोषणापत्रसँग सरकाको नीति, काम नियम लिंक गर्नुपर्‍यो। चुनावसँग मात्र हो र घोषणापत्र ? अनिमात्र भोट बैंक बढ्छ ।’

सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी राणाले पार्टी नेतृत्वको आलोचना गर्नेप्रति पनि आक्रोश पाेख्नु भयो ।