काठमाडौँ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शुल्क वृद्धिको निर्णय स्थगन गरेको छ। गत साता नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरिएकोमा उक्त निर्णय हाल स्थगित भएको छ।
शुल्क वृद्धिको निर्णय चौतर्फी विरोध भएपछि सीटीईभीटी आफ्नो निर्णयबाट पछि हटेको हो । शिक्षामन्त्री अशोककुमार राईले समेत शुल्क वृद्धिको निर्णय पुनःविचार गर्न निर्देशन दिनु भएको थियो। सीटीइभीटीले सूचना प्रकाशित गरेर सरोकारवालासँगको छलफलपछि मात्रै शुल्क समायोजन गरिने जनाएको थियो।
शुल्क समायोजन भन्दै नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको थियो भने फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको हो। जसमा नर्सिङ पढ्न ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तोकिएको थियो ।यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो ।
१० हजारभन्दा धेरै विद्यार्थीले नर्सिङ अध्ययन गर्न आवेदन दिने गरी करिब १५ सिटमा मात्रै अध्ययन गर्न सक्ने अवस्था छ । एक सय बेडको अस्पताल नभएका कलेज बन्द गरिएका कारण सिट संख्या विगत ३ वर्षदेखि घटेको हो ।
त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको थियो । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ ।
प्रतिक्रिया