गलकोट-बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् ।
वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु¥याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ ।
बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी भइरहन्छ तर नोक्सानीको भरणपोषणका लागि आवश्यक रहेको बाली बीमातर्फ भने यहाँका किसान आकर्षित नभएको पाइएको छ । कृषि ज्ञान केन्द्र बागलुङले बाली बीमा गर्नका लागि किसानलई ‘प्रिमियम रकम’समेत प्रदान गर्दछ । बालीको सम्भावित क्षतितर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत आवमा किसानलाई बाली बीमाको प्रमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्रले रु दुई लाख ४० हजार रकम विनियोजन गरेको थियो । हजारौँ किसान रहेको बागलुङमा बाली बीमा कार्यक्रमबाट लाभान्वित हुने किसानको सङ्ख्या १३ जना रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बाली बीमाका आधारमा केन्द्रले बीमाको प्रिमियम रकम प्रदान गर्ने भने पनि १३ किसानले रु २७ हजार प्रिमियम रकम लगेको बताउनुभयो । “कार्यक्रम हेर्दा सानो थियो तर यसको प्रभावकारिता निकै ठूलो थियो, दुई लाख ४० हजारको बीमाले किसानको करोडौँ बालीको नोक्सानी व्यहोर्न सक्दथ्यो”, उहाँले भन्नुभयो “ किसान बाली बीमा नै गर्न चाहँदैनन् भन्ने हो, किसानलाई तत्कालैको नगदी अनुदान तथा उपकरण अनुदानमा आकर्षित छन्, बाँदरले पु¥याएको क्षतिको समेत बीमा भुक्तानी हुनेछ तर किसानले बाँदरको समस्या ल्याउनुहुन्छ तर बालीको बीमा गर्न मान्नु हुन्न ।”
बाँदरलाई जङ्गली जनवारको क्षतिको रुपमा बीमा दाबी गर्न सकिने जनाउँदै बाली बीमा गर्न किसानलाई प्रोत्साहनस्वरुपको कार्यक्रम कार्यान्वयन भएपनि उनीहरु आकर्षित नभएको उहाँको भनाइ छ । भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण किसानले बीमा गर्नेतर्फ आकर्षित नभएको जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो । “साना किसान बीमाको विषयमा जानकार नै छैनन्, तर ठूला कृषि फर्महरुले बीमा गरे पनि प्रिमियम शुल्क लिन कृषि ज्ञान केन्द्र नगएकासमेत हुनसक्छन्”, उहाँले भन्नुभयो, “किसानको पेसासमेत जोखिममा छ, जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि किसानले बीमा गर्न आवश्यक छ ।”
बाली बीमाप्रति किसान आर्कर्षित नभएपनि पशु बीमामा भने किसान आकर्षित भइरहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । उहाँले पशुबाट बालीको भन्दा बढी क्षति हुने भएकाले किसान पशु बीमा गर्ने गरेका छन् । पशु बीमा गर्दा लाग्ने प्रिमियमको ८० प्रतिशत सङ्घीय सरकारले छुट दिने गरेको छ भने दुई वर्षअघि गण्डकी प्रदेशले २० प्रतिशत थप गरेर शतप्रतिशत छुटमा बीमा गर्ने गरे पनि अहिले प्रदेश सरकारको कार्यक्रम भने नरहेका उहाँको भनाइ छ ।





प्रतिक्रिया