काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ ।
मंगलबार न्युज एजेन्सी नेपालसँग आइतबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा बिस्तारको लक्ष्य भन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताउनु भयो । उहाँले गत वर्ष १२.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्यले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसकिने दाबी गर्नुभयो ।
अध्यक्षले ढकालले निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा दिएका सुझावहरुको सम्बोधन नभएको बताउनु भयो । उहाँले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भएपनि निजी क्षेत्रको अपेक्षा अनुसार मौद्रिक नीति नआएको बताउनु भयो ।
अध्यक्ष ढकालले मौद्रिक नीति आएपनि निर्देशनहरु आउन बाँकी रहेको भन्दै निर्देशनमार्फत निजी क्षेत्रले दिएको सुझावहरुलाई अझै समेटेर निर्देशन जारी गर्न माग गर्नुभयो । उहाँले निजी क्षेत्रले दिएका सुझावलाई निर्देशनमार्फत सम्बोधन गरे अर्थतन्त्र चलायमान बनाउन सहज हुने बताउनु भयो । उहाँले निजी क्षेत्रले राष्ट्र बैंकलाई नीति बनाउन दिने सुझावहरु मुलुकको अर्थतन्त्र चलायमान र मुलुकमा नै रोजगारी,सिर्जना र राजश्व संकलन बढ्ने गरी दिएको बताउनु भयो।





प्रतिक्रिया