अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले गृह र अर्थमन्त्रीको राजीनामा माग्ने, संसद् अवरोधको पनि तयारी 

एमालेले गृह र अर्थमन्त्रीको राजीनामा माग्ने, संसद् अवरोधको पनि तयारी 


काठमाडौँ–नेकपा एमालेले संसदमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा माग्ने भएको हो । 

एमाले संसदीय दलका प्रमुख सचेतक पदमराज गिरीले अवैध सुन प्रकरणमा गृह र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै सो कुरा संसदमा राख्ने बताउनुभयो । त्रिभुवन विमानस्थलबाट करिब एक सय किलो सुन भित्रिएपछि त्यसमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको एमालेले बताउँदै आएको छ । 

प्रमुख सचेतक गिरीले भन्नुभयो, ‘अवैध सुन तस्करीको गृह र अर्थमन्त्रीले जिम्मा लिनुपर्छ । उहाँहरुको संलग्नतामा कर्मचारीको सेटिङ भएपछि सुन तस्कर भएको हो । यसको जिम्मेवारीबाट दुई मन्त्री भाग्न पाइँदैन, पच्छिन पाइँदैन । उहाँहरुले जिम्मेवारी लिनुपर्छ । यी विषय सदनमा हामी राख्छौँ ।’

प्रमुख सचेतक गिरीले संसद् अवरोध गर्ने वा नगर्ने अहिले कुनै निर्णय नभएको बताउनुभयो । उहाँले परिस्थिति अनुसार संसद् अवरोध हुनपनि सक्ने बताउनुभयो ।

यसअघि सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताउनु भएको थियो ।  

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाण बिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताउनु भएको हो ।