अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीको संलग्नता बिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैन: देवेन्द्र दाहाल

गृहमन्त्रीको संलग्नता बिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैन: देवेन्द्र दाहाल


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ।

बिहीबार बसेकाे राष्ट्रिय सभा बैठककाे सुरुमै बाेल्दै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले गृहमन्त्री श्रेष्ठकाे संलग्नतामै साे सुनकाण्ड भएकाे आशंका व्यक्त गर्नुभयाे। उहाँले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सहज बनाउनुपर्ने बताउनुभयाे।

१०० केजी सुन विमानस्थलबाट भन्सार पास भएर बाहिरिँदा पनि थाहा नपाउने सरकार र गृहमन्त्रीमाथि नै गम्भीर प्रश्न उठेकाे नेता दाहालले बताउनुभयाे। सिंगाे विमानस्थलकाे अवस्था कस्ताे छ, भन्सार चेकिङकाे अवस्था कस्ताे छ भनेर जवाफ दिने काम सरकारकाे रहेकाे बताउँदै नेता दाहालले भन्नुभयाे, ‘यसकाे जवाफ कसले दिने हाे ? गृहमन्त्रीले हाेइन र ? अर्थमन्त्रीले हाेइन र ? सिंगाे याे सरकारले दिनुपर्ने हाेइन ? तर आफूले कुनै जवाफदेहिता लिनुनपर्ने गरी गृहमन्त्री निक्कै चुर्तिफूर्तिसाथ विमानस्थलमा जानुहुन्छ र कसैलाई छाँडिदैन भनेर मन्तव्य दिनुहुन्छ।’

उहाँले सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरु पनि रहनुपर्ने माग गर्नु भयो ।

उहाले भन्नुभयो, ‘चाल्र्स शोभराजले नेपालको त्रिभुवन विमानस्थलबाट सिंगो हात्ती छिराइदिन्छु भन्थे, नेपालमा यही श्रावण ३ गते १५५ किलो ४६८ ग्राम सुन मात्र एक सय किलो भनिएको छ। यो हात्ती सरहको एक सय केजी सुन हवाइ मार्गबाट भित्रिँदा थाहा नपाउने सरकार, खासगरी गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ। सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? यो सरकारले दिनुपर्ने होइन, तर आफूले कुनै जवाफदेहीता लिनु नपर्ने जसरी गृहमन्त्री निक्कै फुर्तिका साथ विमानस्थल गइ कुनै टार कोटलाई छोडिँदैन भन्नुहुन्छ ।’ 

विमानस्थलको सुरक्षा व्यवस्थालाई छिचोल्दै सय किलो सुन बाहिर आएकै दिन मैले सुरक्षा व्यवस्था चुस्त राख्न सकिन भनेर राजीनामा दिनुपर्नेमा गृहमन्त्रीले राजीनामा नदिएकाे उहाँले बताउनुभयाे। उहाँले भन्नुभयो, ‘विमानस्थलको सुरक्षा व्यवस्थालाई छिचोल्दै सय किलो सुन बाहिर आएर पक्राउ पर्छ, त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई बलियो बनाउन सकिन भनेर विमानस्थल भन्सारसम्बन्धी सुरक्षाकर्मीलाई सस्पेन्ड गर्दै यो सम्मानित सदनलाई संशोधन गर्दै राजीनामा दिनुपर्थ्यो, तर त्यसो भएको छैन।’

सय किलाे सुन तस्करी काण्ड गृहमन्त्रीकाे संलग्नताबिना हुन नसक्ने भन्दै उहाँले गृहमन्त्रीले नैतिकता नदेखाएकाे बताउनुभयाे। उहाँले भन्नुभयो, ‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना सम्भव होला र ? त्यसैले यो विषय अब नैतिकताको विषय मात्र रहेन, अब हामीले यसलाई नैतिकताको विषय भनेर उठाउन खोजिरहेका छैनौँ, ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो, अब त यो विषय गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सम्पूर्ण संयन्त्र अनुसन्धानको घेरामा आएको छ, अब त उहाँ अनुसन्धानको घेरामा रहनुपर्छ।’

दलका नेता दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भएपनि अनुसन्धानको दायरामा ल्याउन नसकेको बताउनु भयो।