अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई मुख्यमन्त्री दिएर आधा-आधा कार्यकाल बाँड्न तयार छौं: हिक्मत कार्की

कांग्रेसलाई मुख्यमन्त्री दिएर आधा-आधा कार्यकाल बाँड्न तयार छौं: हिक्मत कार्की


विराटनगर-कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले नेपाली कांग्रेससँग आधा-आधा कार्यकाल बाँड्ने गरी सरकार गठन गर्न सकिने बताउनु भएको छ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता समेतत रहेका उहाँले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कांग्रेस स्पष्ट भएर आएमा कार्यकाल बाँड्ने गरी सरकार गठन गर्न सकिने बताउनु भयो।

साउन १७ गतेभित्र कुनै पनि दलको समर्थन प्राप्त हुनेबित्तिकै संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी गर्ने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘साना–साना दल जान्छन् भने ठूलो दल नजाने भन्ने कुरै हुँदैन। हामी अहिले ४० सिटको दल हौं । अरु दलहरुसँग हाम्रो कुराकानी भइरहेको छ।’ सरकार गठनको दावीका लागि अन्य दलहरूसँग कुराकानी भइरहेको उहाँले बताउनु भयो ।

कांग्रेस-एमालेको संयुक्त सरकारबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यसमा हामी ओपन छौँ, नेकपा एमाले र कांग्रेसका बीचमा  यदि मुलुकको गणतन्त्र र संविधानलाई संस्थागत गर्ने र कानुनी राज्य स्थापित गर्ने लगायतका तमाम राजनीतिक मुद्दामा हाम्रा कुरा मिल्छन् भने हामी अगाडि बढ्न तयार छौँ।’

उहाँले कांग्रेसलाई मुख्यमन्त्री दिन पनि आफूहरू तयार भएको बताउनु भयो। ‘मुख्यमन्त्री भन्ने ठूलो कुरा होइन। मुख्यमन्त्री दिन जोसुकैलाई पनि सकिन्छ। जब आफूसँग बहुमत पुगेन भने अरु कुनै पनि दलले मुख्यमन्त्री लिएर अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन,’ उहाँले भन्नुभयो, ‘भागबण्डाका लागि चार-पाँचवटा दलमा यति महिना/यति वर्ष भागबण्डा गरौँ भन्ने राजनीतिमा उचित हुँदैन। त्यो एजेण्डामा हामी जाँदैनौँ।’

तर कांग्रेससँग आधा-आधा कार्यकाल भने बाँड्न सकिने उहाँले बताउनु भयो। ‘कांग्रेससँग आधा-आधा कार्यकाल बाँड्न कांग्रेस स्पष्ट भएर आयो भने हामी तयार छौँ,’ उहाँले भन्नुभयो, ‘यसका लागि छलफल अगाडि बढाउने कुराको सुरुवात एक त औ‍पचारिक रुपमा मैले यहाँ बोलेर भयो। अर्को वैशाख महिनामा केन्द्रीय समितिले निर्णय गरेको कुरा हो, अर्को  अध्यक्ष/महासचिवले बोलिराखेकै कुरा हो। यसमा हामी ओपन नै छौँ।’‍

कार्की गत पुस २४ गते नेकपा माओवादी र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। तर केन्द्रमा गठबन्धन परिवर्तन भएसँग दुवै दलले सरकारबाट बाहिरिँदै विश्वासको मत फिर्ता लिनु भएको थियो।

जसपा र माओवादी बाहिरिएपछि गत असार १५ गते उनले प्रदेशसभामा पुन: विश्वासको मत लिएका थिए, तर पाएनन्।

कार्की नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा गत पुस २४ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । कुल ९३ सदस्यीय प्रदेशसभामा विश्वासका मतका लागि ४७ सांसदको समर्थन आवश्यक भए पनि विश्वासको मतको पक्षमा ४६ सांसद मात्रै उभिएपछि उहाँ पदमुक्त हुनु भएको थियो ।

असार २१ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतमसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उक्त नियुक्ति बदरको माग गर्दै एमाले सर्वोच्च अदालत पुगेको थियो।

बिहीबार थापाको मुख्यमन्त्री  नियुक्ति अवैधानिक बाटोबाट भएको ठहरसहित सर्वोच्चले  बदर गरेसँगै काम चलाउ सरकारको जिम्मा कार्कीले पाएका हुन्। कार्कीले आजैदेखि प्रदेश सरकारकोव कामचलाउ सरकारको जिम्मेवारी सम्हाल्दैछन्।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार असार २१ मुख्यमन्त्री बनेका  थापाको नियुक्ति बदर गरी फेरि एक पटक संविधानको धारा १६८(२) द्वारा सात दिनभित्र नयाँ सरकार बनाइसक्न आदेश दिएको छ।