अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी सरकारकाे सेटिङबिना सम्भव छैन: अध्यक्ष ओली

सुन तस्करी सरकारकाे सेटिङबिना सम्भव छैन: अध्यक्ष ओली


नेपालगञ्ज-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलबाट क्विन्टल बढी सुन भित्राउने प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतोको आशंका गर्नु भएको छ।

बाँकेको नेपालगञ्जमा शनिवारदेखि शुरु भएको लुम्बिनी प्रदेशका सबै तहका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले नैतिक जिम्मेवारी नलिएसम्म आफूहरूले यो विषयलाई सेलाउन नदिने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन, एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो, यो सेटिङबिना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ।’

अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सय किलो सुन विना सुइँको छिर्नु चानचुने कुरा नभएको उहाँको भनाई थियो । एयरपोर्टजस्तो ठाउँमा सुन तस्कर हुनु शंकास्पद रहेको भन्दै अध्यक्ष ओलीले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्ट जस्तो संवेदनशील क्षेत्रमा सय किलो सुन निकासा हुनु राज्यको संलग्नता देखिएको जिकिर गर्नुभयो ।

ओलीले यो घटनाले वर्तमान सरकार भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको र सरकार सुशासनको पक्षमा नरहेको प्रष्ट हुने एमाले अध्यक्ष ओलीले बताउनु भयो । अहिलेको सरकार राष्ट्र प्रतिको जिम्मेवारी बोध नभएको हुनाले जनता खुशी नभएको भन्दै उहाँले जनतामुखी र जनताले चाहेको सरकार नै एमाले सरकार भएको जिकिर गर्नु भयो ।

देशमा भ्रष्टाचार झनै मौलाएको हुनाले एमालेले देशको विकास र उन्नति चाहेको उहाँले बताउनु भयो ।

एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले सम्बन्धको आधारमा केही सिफारिस नगर्न निर्देशन गर्दै आफू र पार्टीका लागि घातक बन्न सक्ने भन्दै ओलीले कुनैपनि शंकास्पदको सिफारिस गर्दा पार्टीलाई सम्झाउनुस् अनि मात्र सिफारिस गर्न उहाँले सुझाव दिनु भयो । उहाँले भन्नुभयो, ‘एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्नु हुन्न आफू बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो।’

अध्यक्ष ओलीले संस्थाको हितमा काम गरेर बेरूजु नलाग्ने गरी काम गर्न आग्रह गर्नुभयो । एमाले पार्टीको मिसन २०८४ लाई कसरी सफल बनाउने तिर ध्यान दिन उनले सबै तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भयो।