अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश : नयाँ सरकारमा दाबी गर्ने एमालेको तयारी 

कोशी प्रदेश : नयाँ सरकारमा दाबी गर्ने एमालेको तयारी 

सभामुखलाई राजीनामा गराएर सरकारको नेतृत्वमा दाबी गर्दै गठबन्धन


विराटनगर-कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने समय आज सकिँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो । 

सर्वोच्च अदालतले मुख्यमन्त्री पदमा उद्धव थापाको नियुक्ति बदर गरेर नयाँ सरकार गठन गर्न परमादेश दिएपछि प्रदेश प्रमुख  खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । 

यसैबीच कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।

यस्तै नेकपा एमालेले दाबी पेश गर्ने तयारी रहेको जनाएको छ । एमाले कोशी प्रदेशका सांसद रोहित बहादुर कार्कीले प्रदेश सरकारमा आफूहरुको दाबी हुने बताउनुभयो ।  

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इतर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवश्यक पर्ने भएपछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।