अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, १८ गते फेरि बस्ने

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, १८ गते फेरि बस्ने


काठमाडौं-संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।

अर्को बैठक साउन १८ गते ५ बजे बस्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताउनु भयो। बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘आज प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो। हामीले छलफल गर्‍यौं। थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ ।’

संविधानको धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ । हाल सर्वोच्च अदालतमा तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशका उम्मेदवार हुन् ।

तर, संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्दै आएको छ । हाल विश्वम्भर प्रसाद श्रेष्ठ वरिष्ठतम न्यायाधीश रहेका छन् । श्रेष्ठ, खतिवडा, भट्टराई, सिन्हा, राउत र प्रधान २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।