अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोइराला

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोइराला


काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्नु भएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताउनु भएको हो ।

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहनुभएका (नवराज ढुंगाना) लाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताउनु भयो।

उहाँले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताउनु भयो।

उहाँले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान ओझेलमा पर्ने दाबी गर्नुभयो।

उहाँले भुटानी शरणार्थी र ललितानिवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताउनु भयो । नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताउनु भयो।

उहाँले देशमा अराजकता र दण्डहीनता बढिरहेको बताउनु भयो। उहाँले मानिसको हत्या गर्नेहरुलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गर्नु भयो ।

उहाँले भन्नभयो, ‘भ्रष्टाचारले देश गाँजेको छ। अर्को भनेको दण्डहीनता बढीरहेको छ। मान्छे मार्नुहुन्छ, राजनीतिक लेपमा छुट्नुहुन्छ। सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतले निर्णय गरिसकेको हुन्छ। यस्ता कुरलाई हामीले ठिक राख्न सकेनौँ भने देश अराजकतातिर जान्छ। अहिले गइरहेको छ। भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ। एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ। भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भूटानी शरणार्थी प्रकरण रोकियो।’