अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी नामाकरणलाई लिएर एमालेमाथि ढुङ्गामुढा गर्नु राजनीतिक पूर्वाग्रह: सुवास नेम्वाङ

कोशी नामाकरणलाई लिएर एमालेमाथि ढुङ्गामुढा गर्नु राजनीतिक पूर्वाग्रह: सुवास नेम्वाङ


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले कोशी प्रदेश नामाकरणमा प्रदेश सभाको करिब पूर्ण सहमति भएको स्मरण गराउनुभएको छ। 

समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा नेकपा एमाले निकट लोकतान्त्रिक किराँत राई संघको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै नेम्वाङले प्रदेश सभाका सदस्यमध्ये चार मत बाहेक सबै मत कोशी नामको पक्षमा रहेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘चारवटा भोट बाहेक अरु सम्पूर्ण भोटहरू कोशीको पक्षमा पर्‍यो, त्यसमा अरु धेरै छलफल म गर्न चाहन्न, त्यहाँ आएर जुर्‍यो, त्यहाँ आएर प्रदेश सभा एउटा टुङ्गोमा पुग्यो।’ 

कोशी प्रदेशको नाम प्रदेश सभा आफैँले गरेको निर्णय भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कोशी प्रदेश केन्द्रबाट गरेको निर्णय होइन, अन्य कतैबाट गरेको निर्णय होइन, कोशी प्रदेशका दलहरू बस्दा कोशी प्रदेश गरौँ न भन्ने निष्कर्ष निकाले हो ।’  

कसैको इच्छा नहुँदै पनि कोशी प्रदेश नामाकरण भइसकेकोले त्यसलाई सबैले मान्नु पर्ने उहाँले बताउनुभयो। कोशी प्रदेश नामाकरणलाई लिएर एमालेमाथि ढुङ्गामुढा हुनु राजनीतिक पूर्वाग्रह भएको उहाँले बताउनुभयो। 

पहिचानको नाममा हानिएको ढुङ्गाले ताप्लेजुङ एउटा लिम्बु प्रहरी अधिकृतको टाउकोमा १७ वटा टाँका लगाउनु परेको उहाँले बताउनुभयो। त्यस्तै पहिचानको नाममा हानिएको ढुङ्गाले एउटा राजवंशी हवलदारको अनुहारमा चोट लागेको उहाँले सुनाउनुभयो। ‘पहिचानको ढुङ्गा त खतरनाक हुँदो रहेछ’, नेम्वाङले भन्नुभयो। 

हिंसात्मक गतिविधिले पहिचानको आन्दोलनलाई कमजोर पार्ने नेम्वाङले बताउनुभयो । पहिचानको नाममा गरिएको हिंसात्मक गतिविधिले आन्दोलनलाई नै बदनाम गराउने काम भएको उहाँले प्रष्ट पार्नुभयो।