धनकुटा-कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण बढ्दै गएको छ। कोशी प्रदेशमा आइतबारसम्ममा ६ हजार ४ सय ६४ जनामा डेंगी संक्रमण देखिएको छ।
कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा संक्रमण बढी मात्रामा संक्रमण देखिएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा हालसम्म सक्रमण देखिएको छैन।
आइतबारसम्म सुनसरीमा ४ हजार ५५८, मोरङमा ९१८, झापामा ४५४, उदयपुरमा १६८ र धनकुटामा १०८ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक जानबहादुर बस्नेतले जानकारी दिनु भयो । यस्तै, भोजपुरमा ८४, संखुवासभामा ७८, तेह्रथममा ५८, इलाममा २५, ताप्लेजुङमा ११, पाँचथरमा ५, खोटाङमा ४ जनामा संक्रमण देखिएको बस्नेतले बताउनु भयो।
डेंगी संक्रमणबाट हालसम्म कोशी प्रदेशमा ९ जनाको मृत्यु भएको र ती सबै सुनसरीका रहेको निर्देशनालयले जनाएको छ। डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनु भयो। डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्।
प्रतिक्रिया