अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्‌मा योगेश भट्टराईको प्रश्न: सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ ?

संसद्‌मा योगेश भट्टराईको प्रश्न: सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ ?


काठमाडौं-नेकपा एमालेका सांसद एवं सचिव योगेश भट्टराईले एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीमाथि नै छानबिन गर्नु पर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताउनु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि कसले छानबिन गर्ने भन्दै प्रश्न गर्नु भयो ।

‘गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ?’ भट्टराईले प्रश्न गर्नुभयो, ‘गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीर्आबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ ?’

सांसद भट्टराईले भन्नुभयो, ‘अर्थमन्त्रीसँग हाम्रो प्रश्न छ, प्रधानन्त्री कार्यालयसँग हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान विभागसँग हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठायो ? राजस्व अनुसन्धानले उठाउँछ ? भन्सार विभागले उठायो ? अध्यागमन कहाँ छ ? एयरपोर्ट म्यानेजमेन्ट कहाँ छ ? यी तमाम विषयको छानबिन नगरीकन यो फ्याक्ट फाइन्डिङ हुन सक्दैन।’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै उसको भनाइ पनि उच्चस्तरीय छानबिन समिति गठनमै भएको बताउनु भयो । सत्तापक्षका सांसदहरुले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ भनेको भन्दै भट्टराईले संसदमा ह्वीप नलगाई भोटिङ गर्न माग गर्नु भयो।

उहाँले सीआईबीले तीन महीना अघि नै छानबिन गरेर प्रस्तुत गरेको रिपोर्टको फाइल अघि नबढेकोमा आपत्ति जनाउनु भयो। उहाँले भन्नुभयो, ‘म प्रश्न गर्न चाहन्छु, सीआईबीले तीन महीनाअघि छानबिन गरेर रिपोर्ट बुझाएको फाइल आज गृहमन्त्रीजीको टेबुलमा छ र त्यो अगाडि बढ्दैन भने आज राजस्व अनुसन्धान विभागले २० दिन छानबिन गरेर सीआईबीलाई फाइल बुझाएको छ। त्यो बीचमा के खेल भयो ?’