काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक क्विन्टल सुन विमानस्थल परिसरबाट बरामद भएपछि त्यहाँबाट सुन मालिककोमा किन पुग्न नदिएको भन्दै प्रश्न गर्नु भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सभापति लामिछानेले गृहमन्त्रीलाई ब्रेक शु भेटिएको कम्पनीसम्म पुग्न तीन दिन लगाएको भन्दै आपत्ति जनाउनु भएको छ।
‘सरकारले एयरपोर्टमा छाडेपनि सिनामंगलमा अर्को हातले समायो भनेर खुसी हुन त सकिन्छ होला, तर सिनामंगलबाट खुसी भएर लात्तले प्वाक्क हानेर छाडिदियो भनेर भन्न नि सकिन्छ होला नि,’ सांसद समेत रहेका लामिछानेले प्रश्न गर्दै भन्नुभयो, ‘सिनामंगलमा नसमातेको भए मालिककोमा पुग्थ्यो होला नि? दुईवटा हात र अर्को खुट्टा पनि जलाएको हो कि भनेर अर्को खुट्टा हामीले यहाँ ल्याउन खोजेका छौं।’
उहाँले गृहमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएको पनि बताउनु भयो। ‘गृहमन्त्रीलाई हौसला दिन हामी यहाँ आएका छौं। तर केही प्रश्न आएका छन्। ती प्रश्नहरुको जवाफ गृहमन्त्रीबाट नआएपछि त्यो चित्त बुझेन भने हामी भनौंला,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्यूलाई हाम्रो प्रश्न छ, बाटोमा समातिएको सुन मालिककोमा जान किन नदिएको ? ब्रेक शू कम्पनीमा खाली बट्टा भेटियो त्यो समय किन दिइयो?’
प्रतिक्रिया