अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुख्खा क्षेत्र घोषणा र लम्पी स्किन नियन्त्रणका लागि प्रधानमन्त्रीलाई एमालेको ज्ञापनपत्र

सुख्खा क्षेत्र घोषणा र लम्पी स्किन नियन्त्रणका लागि प्रधानमन्त्रीलाई एमालेको ज्ञापनपत्र


जनकपुरधाम-मधेश प्रदेशका आठै जिल्ला प्रशासन कार्यालयमार्फत नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै प्राकृतिक प्रकोप सुख्खा क्षेत्र घोषणा र पशुहरुलाई सताएको लम्पी स्किन रोगको उपचार लगायतका माग राखेको छ।

वर्षा नभएकाले नेकपा एमालेले मधेश प्रदेशलाई प्राकृतिक प्रकोप सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई बिउ विजन तथा मलखाद उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएको हो । एमालेले बाढीको जोखिममा परेका नागरिकको जीवन रक्षाको माग पनि गरेको छ।

लम्पी स्किन रोगका कारण पशु गुमाएका किसानहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन, आँखा पाक्ने रोग नियन्त्रण गर्न, उखु किसानले नियमित रुपमा पाउँदै आएको अनुदान रकम तत्काल उपलब्ध गराउन पनि एमालेले माग राखेको छ । यो वर्ष चामल लगायत खाद्यान्नको अभाव हुने देखिएकाले पूर्वतयारी गर्न र किसानले उत्पादन गरेका वस्तु विक्रीको व्यवस्था मिलाउन पनि एमालले सरकारको ध्यानाकर्षण गराएको छ ।

सर्लाहीमा एमाले जिल्ला अध्यक्ष राजनारायण साह, धनुषामा जिल्ला उपाध्याक्ष भोला यादव, सिरहामा जिल्ला ईन्चार्ज सुमन राज प्याकुरेल एवं अध्यक्ष चन्देश्वर मण्डल, सप्तरीमा जिल्ला अध्यक्ष ताराकान्त चौधरी, रौतहटमा जिल्ला संयोजक संचिदानन्द साह, महोत्तरीमा अध्यक्ष कालिचरण साह, बारामा सचिव अध्यानन्द पाण्डे र पर्सामा अध्यक्ष विश्वम्भर शर्माले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।