अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 उच्चस्तरीय छानबिन समिति गठन गर्दा सरकारलाई के क्षति हुन्छ ?: राजेन्द्र लिङ्देन

 उच्चस्तरीय छानबिन समिति गठन गर्दा सरकारलाई के क्षति हुन्छ ?: राजेन्द्र लिङ्देन


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले अनुसन्धानको विश्वसनीयताका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताउनु भएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा लिङ्देनले प्रहरीले मात्रै अहिलेको सुन काण्डमा संलग्न रहेकाहरुलाई कारबाही गर्न नसक्ने भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु भयो।

‘राज्यको प्रतिपक्षी दलले यत्रो गम्भीर विषयमा माग अघि सार्दा त्यो बनाइदिँदा सरकारलाई क्षति हुने विषय के थियो ? के नोक्सान हुन्थ्यो ? सरकारले गरेका सबै अनुसन्धानहरु पूर्ण छन् ? सुनियतका साथ छन् ? अहिले खोलिएका सबै फाइलहरुमा सबैमाथि अनुसन्धान भएको छ ?,’ लिङ्देनले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा गर्नु भएको अनुसन्धान पूर्ण छ ? ललिता निवास जग्गा प्रकरणमा अदालतले भनिदियो नि ? तपाईंको अनुसन्धान अपूर्ण छ र कोही मानिसलाई जोगाउनुभएको छ भनेर भनिदियो नि ? त्यसकारण सरकारको निकायले गरेको मात्रै अनुसन्धान पूर्ण हुँदैनन्।’

लिङ्देनले अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले सबैमाथि अनुसन्धान गर्न नसक्ने भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको तर्क गर्नु भयो । ‘अहिलेको सुन प्रकरणमा प्रहरी प्रमुखलाई अनुसन्धान गर्न अहिले सीआईबीले सक्छ ? सत्ता पक्षकै संसद्ले‌ अनुसन्धान गर्नु भनेको गृहमन्त्री र अर्थमन्त्रीलाई सीआईबीले अनुसन्धान गर्न सक्छ ?’, उहाँले भन्नुभयो, ‘यसको विश्वनीयताका लागि पनि उच्चस्तरीय छानबिन समिति गठन मञ्जुर हुनुहोस् ? सहयोग गर्नु होस् । छानबिन समिति बनेपछि सरकार ढल्ने कुरा हुँदैन। संसद् खेल्ने विषयमा प्रतिपक्षी दलको मात्रै होइन सरकार सहयोग हुनुपर्‍यो। अहिले संसद् खोल्ने विषयमा सरकारको रुचि छैन।’