अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुनैपनि राज्य धर्म र जात विशेष हुँदैन: केपी ओली

कुनैपनि राज्य धर्म र जात विशेष हुँदैन: केपी ओली


काठमाडौँ-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल देश र प्रदेशहरूको नाम जाति विशेषको नाममा नभई साझा नाम राखिएको बताउनु भएको छ। 

बिहीबार २९ औं विश्व आदिवासी दिवसका अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हाे ।

अध्यक्ष ओलीले देश वा प्रदेशको नाम कसैलाई हेप्ने वा अपमान गर्ने हिसाबले नराखिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा प्रदेशका नाम पनि हामीले साझा, भूगोल आधारित, नदी नाला आधारित गण्डकी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, वाग्मती प्रदेश, खोलाका नामबाट हामीले प्रदेश राखेका छौँ ।’ 

सुदूरपश्चिम, मधेश प्रदेश लुम्बिनी प्रदेश साझा भूगोलकै नाममा राखिएको उहाँले बताउनुभयो । ‘सबैका लागि हामी साझा ढङ्गले चलेका छौँ’, उहाँले भन्नुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कतिपयले जातका आधारमा सेन्टिमेन्टल बनाएर र भावनामा बगाएर नेपालीहरुबीच द्वन्द्व र फाटो ल्याउने प्रयास भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जातका आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ। त्यसबेला कसैले यो देश जोगाएर जोगिँदैन।’

ओलीले पहिचानको मुद्दा घृणा र विद्वेष फैलाउन नभई मित्रता कायम गर्नका लागि हुनुपर्ने बताउनु भयो। ‘हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता चाहिन्छ । त्यो राष्ट्रिय एकताले मात्र देशको रक्षा र विकास हुन्छ’, ओलीको भनाइ छ।

नेकपा एमाले जहिले पनि समान हक अधिकार र राष्ट्रिय एकताको पक्षमा उभिएको उहाँले बताउनु भयो। ‘हामीलाई जातका आधारमा केहीका नाममा भावमान बगाएर कसैले हामी बिचमा विद्वैश, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ, त्यति बेला हाम्रो देश जोगिँदैन, जोगाउन सकिँदैन’, ओलीले भन्नुभयो । 

सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकताले नै समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने ओलीले बताउनुभयो ।