अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सुरु गर्‍यो विद्यार्थीका सुझाव लिन, कार्यान्वयन गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता 

एमालेले सुरु गर्‍यो विद्यार्थीका सुझाव लिन, कार्यान्वयन गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता 


काठमाडौँ–नेकपा एमालेले केन्द्रीय पार्टी कार्यालयमा विद्यार्थीको सुझाव लिन सुरु गरेको छ । पार्टी कार्यालयको अवलोकन गर्न आउने स्कुले विद्यार्थीको सुझाव संकलन गर्न एमालेले सुझाव पेटिका समेत राख्न सुरु गरेको हो । 

पार्टीको अवलोकन गर्न आउने विद्यार्थीसँग अध्यक्ष ओलीले भेट पनि गर्नुभएको छ । अध्यक्ष ओलीको निर्देशनमा नै पार्टी कार्यालयमा विद्यार्थीका लागि सुझाव पेटिका राखिएको हो । सो पेटिकामा विद्यार्थीले दिएका सुझाव आफूले पनि पढ्ने भन्दै अध्यक्ष ओलीले सुझाव अनुसार चल्ने पनि बताउनु भएको छ । 

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’हाम्रो पार्टी कार्यालयमा यी विद्यार्थी भाइबहिनीहरुलाई पार्टीको बारेमा जानकारी मात्र दिने होइन कि सुझाव पनि लिने भनेर सुझाव पेटिका राख्नु भनेको छु । जुन सुझावहरू म आफैँ पनि पढ्ने छु र सोही अनुरूप चल्ने प्रयास हामी गर्ने छौँ । अहिलेसम्म घुम्न आउनु भएका विद्यार्थी भाइबहिनीहरुका सुझावहरू के छन्, कमेन्ट बक्समा लेख्न सक्नु हुन्छ ।’ 

अध्यक्ष ओलीले पार्टी कार्यालयको अवलोकन विद्यार्थीहरू दिनहुँ आउने गरेको जानकारी दिनुभयो । 

‘आजभोलि विद्यालयहरुले विद्यार्थीहरुलाई राजनीतिक दलका कार्यालय घुमाउने र केही जानकारी लिने चलन सुरु गरेका रहेछन् । यो राम्रो सुरुवात हो । अस्ति म पार्टी कार्यालय गएको बेला संयोगले विद्यार्थीहरुसँग भेट भयो र उनीहरुसँग केही कुरा गर्ने अवसर मिल्यो’, उहाँले लेख्नुभएको छ,’हाम्रो पार्टीका कार्यालय सचिवले बताए अनुसार आजभोलि सातामा ४/५ वटा विद्यालयबाट विद्यार्थीहरू पार्टी कार्यालय अवलोकन गर्न आउँदा रहेछन् र यो क्रम बढ्दो छ ।’ 

देशको राजनीतिप्रति विद्यार्थीहरुको चासो र विश्वास बढाउने पर्ने भन्दै अध्यक्ष ओलीले उनीहरुलाई राजनीतिमा आउन प्रेरित गर्ने बताउनुभयो ।