अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई सरकारमा रुचि होइन, सत्तातिर हेर्नु छैन: अध्यक्ष ओली

एमालेलाई सरकारमा रुचि होइन, सत्तातिर हेर्नु छैन: अध्यक्ष ओली


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनुभएको छ। 

सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्ता मोह, सत्ता लोलुप्ता तिर लागेको भन्ने कुरा सत्य नभएको ओलीको स्पष्टीकरण थियो।

आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो पार्टीलाई अहिले सत्तातिर हेर्नु नभएको बताउनु भयो। अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तातिर नहेरे पनि सरकारलाई जे पनि गर्न भने नदिने चेतावनी दिनुभयो। 

उहाँले भन्नुभयो, ‘एमाले सरकारमा जाने दाउ त होइन ? यो सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने खालको कुराहरू पनि आउन सक्छन् । तर नेकपा एमालेलाई सरकारमा रुचि होइन। चिन्ता सरकारको होइन, देशको हो चिन्ता । देशको अर्थतन्त्रको हो चिन्ता। जनताको दैनिकीको कुन अवस्थामा देश गइराखेको छ, कस्तो अवस्थामा पुगिराखेको छ ? उद्योगधन्दा के भइराखेको छ ? अब म स्पष्ट गर्न चाहन्छु– एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुपता, त्यतापट्टी सत्तातिर हामीले हेरेका छैनौँ । हामीलाई हेर्नु पनि छैन । तर यसको अर्थ हामीले हेरेको छैनौँ भनेपछि सरकारले जे गरेपछि हुन्छ, ढुक्क रहेछ भन्ने होइन । यो पनि गर्न सरकार पाउँदैन।’

अध्यक्ष ओलीले निर्माण व्यवसायीहरूलाई गिरफ्तार गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो। अफ्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई वार्ताद्वारा उनीहरूको समस्या समाधान गर्नुको साटो सरकारले उनीहरूलाई घाँटी थिचेर मार्ने प्रयास गरिरहेको ओलीको जिकिर थियो । उहाँले सरकारले नागरिकका कुनै पनि समस्याको सुनुवाइ समेत नगरेको गुनासो गर्नुभयो। 

अध्यक्ष ओलीले भन्नुभयो, ‘आज निर्माण व्यवसायीहरू गिरफ्तार गरिन्छन् । उनीहरूका भनाई कसैले सुन्दैन । किनभने निर्माण व्यवसायीहरू सडकमा आउनुपर्ने अवस्था सरकारले बनाएको हो । र, निर्माण व्यवसाय जब चलेन, त्यसपछि पहिले त हार्डवेयर पसलहरू बन्द। यसको कारोबार बन्द। निर्माण व्यवसाय ठप्प भएपछि। मजदुरहरूले जब पाएनन्। त्यसपछि सिमेन्ट, रड, इँटा, बालुवा, गिटी अरू कुनै पनि चिजको कारोबार हुने कुरा भएन। अरू हार्डवेयरका सबै कामहरू बन्द हुने भए । यस्तो खालको स्थिति बन्छ । त्यसको चेन अफ इफेक्ट विकास, निर्माणमा प्रतिकुल असर पार्ने मात्रै होइन। रोजगारीदेखि लिएर सम्पूर्ण आर्थिक क्रियाकलापका प्रतिकुल असर पर्छ । अत्यन्तै गम्भीर असर पर्छ । त्यो कुरा ध्यान दिनुपर्दैन, त्यो कुरा सुन्नुपर्दैन ? तत्काल त्यो कुरा उहाँहरूलाई बोलाएर वार्ता गरेर त्यो समस्या समाधान गर्नु पदैन ? अनि उल्टै उहाँहरूले पाउनुपर्ने रकम पाउनुभएको छैन । व्यवसायीहरूलाई सहयोग गर्नुको साटो सरकार घाँटी निचोर्छ । ज्यादतीपूर्ण ढंगले, ज्यादती एक ठाउँमा मात्रै होइन ।’

अध्यक्ष ओलीले सरकार आफैँले संसद चल्न नदिएको समेत दोहो¥याउनु भयो । संसद अवरोध हुन नहुने भएपनि सरकार आफैँले त्यस्तो खालको परिस्थिति निर्माण गरेको उहाँको तर्क थियो ।