अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली


काठमाडौं-नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ। 

मंगलवार नेकपा(एमाले) बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो।

अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताउनु भयो। उहाँले तत्कालीन समयमा आफूहरूलाई झुन्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताउनु भयो। उहाँले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताउनु भयो। उहाँले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘हामीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्‍यौँ। विघटन गर्‍यौँ । हामीले ठिक ठानेर गर्‍यौँ । ठिक भनेर गर्‍यौँ । ठिक थियो र गर्‍यौँ । नगरी नहुने थियो र गर्‍यौँ । बिलकुलै समसामयिक कदम चाल्यौँ । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई झुन्ड्याएर मार्ने जुन डोरी उनीहरूले बनाएका थिए त्यो डोरी हामीले काटिदियौँ। षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरू असाध्यै आत्तिए । उनीहरूले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरूलाई त्यही डर थियो प्रतिनिधि सभा भङ्ग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो। प्रतिनिधि सभा पुनः स्थापना भयो तर प्रतिनिधि सभा पुनः स्थापना भएर पनि केही पनि बिग्रिएन किनभने हामी माथि त्यति बेलाको सबभन्दा ठूलो प्रहार के थियो भने सङ्गठनात्मक प्रहार थियो । हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो त्यस योजनालाई हामीले, त्यसको फेरि प्रत्यक्ष सम्बन्ध छैन। त्यो संसद् आफू केही होइन । संसद्को आफैँमा त्यसको अस्तित्व त्यस्तो थियो ? होइन । त्यसका क्रियाशील पात्रहरू जो थिए उनीहरूको षड्यन्त्र र त्यसको पृष्ठ भागमा बसेका पुतली नचाउने कुसुलेहरु थिए। उनीहरूको हिसाबले प्रतिनिधि सभा भङ्ग गर्नै नहुने कुरा थियो । गर्नै नहुने काम थियो । किनभने त्यो गरिसकेपछि हामी जे गथ्र्यौं त्यसबाट हामीलाई समाप्त पार्ने उनीहरूको योजना खत्तम हुन्थ्यो । हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो । मुख्य रूपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो। त्यो चाल्नैपथ्र्यो । त्यसपछि हामी फागुन ११ मा फेरि प्रतिनिधि सभा पुनः स्थापना हुँदासम्म हामी प्रतिनिधि सभामा मजबुत रूपमा, फेरि पनि प्रमुख पार्टीको रूपमा प्रतिनिधि सभा पुनः स्थापना हुँदासम्म पुग्यौँ ।’

अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गर्नुभयो।