अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र रावलबीच के-के भयाे कुराकानी?

अध्यक्ष ओली र रावलबीच के-के भयाे कुराकानी?


काठमाडौं–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता भिम रावलबीच एक घण्टा बढी छलफल भएको छ।

लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेता रावलले पार्टी अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्नु भएको थियो । अध्यक्ष ओलीसँग भेट गर्न रावल मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुग्नु भएको थियो।

भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले लामाे समयपछि भएको भेट सकारात्मक भएको जानकारी दिनुभयाे। उहाँले भेटमा देश-विदेशकाे पछिल्लो अवस्थााबारे कुराकानी भएको बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो। र, आज भलाकुसारी गर्‍यौं। के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ। यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ। त्यसमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने भयो।’

नेता रावललाई जिम्मेवारी दिनेबारे के छलफल भयो भन्ने पत्रकारले प्रश्‍न गरेका थिए। त्यसबारे उहाँले भन्नुभयो, ‘होइन। हामीले अघि नै भनेका थियौं। धेरै लामो समयपछि भेटघाट भएको हो। अब उहाँ पार्टीको अध्यक्ष, उहाँसँग धेरै देश-विदेशको बारेमा जानकारी हुन्छ। सूचना हुन्छ। अब म पनि अध्ययन गरिरहेको मान्छे। आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो। अब फेरि कुराकानी गरौंला भन्ने भयो। यतिमात्रै भयो।’

२०७८ मा चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा रावल उपाध्यक्ष पद छाडेर अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्नुभएको थियो ।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए। 

पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन।