अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ: महासचिव पोखरेल

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ: महासचिव पोखरेल


वीरगञ्ज-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताउनु भएको छ।

प्रेस चौतारी पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ । उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको समान्य कुरा समेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सिर्जना भएको छ ।’ आफूहरुले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उहाँको भनाइ थियो।

संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नु परेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आफूहरूले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुन्छ।’  

राज्यका सुरक्षा निकायप्रति आफूहरूको कुनै आशङ्का नरहेको उल्लेख गर्दै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशंका उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पार्नुभयो ।

दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउँदै महासचिव पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ,निष्पक्ष छानबिन गर्न दिनुपर्छ।’

महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाउनु भयो।

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता औँल्याउँदै उहाँले बलियो राजनीतिक शक्ति निर्माणका लागि नेकपा एमाले ‘मिसन २०८४’ अभियान सञ्चालन गरी बलियो राजनीतिक शक्ति निर्माणमा अघि बढेको बताउनु भयो । पत्रकार सम्मेलनमा एमाले सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, एमाले नेत्री तथा पूर्वमन्त्री ज्वालाकुमारी साहलगायतको उपस्थिति थियो।