अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको बलमिचाइँका कारण संसद् रोकिएको हो: महेश बर्तौला

सरकारको बलमिचाइँका कारण संसद् रोकिएको हो: महेश बर्तौला


रुपन्देही-नेकपा एमालेका सचेतक महेश बर्तौलाले वर्तमान गठबन्धन सरकारको बलमिचाइँका कारण संसद् रोकिएको बताउनु भएको छ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवल गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमालेका कारण सदन नरोकिएको बताउनु भयाे।

उहाँले भन्नुभयो, ‘प्रतिपक्षले उठाएको मागमा जबरजस्ती गर्न मिल्दैन, एमालेले माग उठाएको हो, संसद् चलोस् भन्ने चाहन्छ, सदनमा उठेका मागमा जबाफदेही बन्नु पर्छ। गठबन्धन प्रतिपक्षसँग मुकाबिला गर्न आएको छ।’

नेता बर्तौलाले अहिलेको सरकार नेपाली नागरिकको अभिभावक बन्नै नसकेको र सदनलाई पनि त्यहीँ तरिकाले छायामा पारेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री र गृहमन्त्रीले अरूलाई देखाउन, प्रपोगाण्डा फैलाउन विभिन्न काण्डका फाइल खोल्ने धम्की दिँदै गठबन्धन टिकाउने रणनीतिक योजना बनाएको आरोप लगाउनु भयाे ।

‘सरकारको जिम्मेवार व्यक्तिले अब यो फाइल खोल्ने, अब यो फाइल बन्द गर्ने घोषणा गर्नु गठबन्धन टिकाउने धम्कीबाहेक केही होइन, नभए सरकारसँग जोडिएका पात्रको छानबिन नहुने सहमति त्यसैको उदाहरण हो’, उहाँले भन्नुभयो ।

नेता बर्तौलाले माधव नेपाल, बाबुराम भट्टराईलाई अदालतले समेत आदेश दिँदा छानबिनमा नबोलाइनु, उपेन्द्र यादवलाई छानबिन नगरी राख्ने सहमति गर्ने र गौर हत्याकाण्डका पीडितसँग अर्को सहमति गर्ने प्रधानमन्त्री प्रचण्डको सत्ता टिकाउने दाउ मात्र रहेको बताउनु भयो ।

उहाँले संसद् ठिक ढंगबाट सञ्चालन नभएको, कानुन निर्माण गर्ने संसद्लाई सरकारले बिजनेस दिन नसकेको,विपक्षीको माग सम्बोधन नगरेको तर एमालेले सबै काण्डमा छानबिन गर्न बलियो उच्चस्तरीय समिति बनाउन नचाहेर सरकारमा रहेका व्यक्ति चोख्याउने योजना सरकारले बनाएको उहाँले बताउनु भयाे ।