अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिना दिन देखि अवरुद्ध भएको बैठक सञ्चालनका लागि दलका प्रमुख सचेतकहरुसँग सभामुखको बैठक

महिना दिन देखि अवरुद्ध भएको बैठक सञ्चालनका लागि दलका प्रमुख सचेतकहरुसँग सभामुखको बैठक


काठमाडौं- करिब महिना देखि अवरुद्ध भएको संसदको बैठक सञ्चालन गर्न सभामुख देवराज घिमिरेको पहल जारी रहेको छ । सभामुख घिमिरेले सदनको अवरोध हटाउन आज दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक डाक्नु भएको छ । बैठक अहिले जारी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

साउन ३ गते बरामद भएको साढे ६० केजी सुन प्रकरणलाई लिएर उच्चस्तरीय समिति मागसहित एमालेले संसद्‍मा अवरोध गरिरहेका बेला सभामुख घिमिरेले आफूलाई सक्रिय बनाएका हुन्।

सभामुख घिमिरेले बिहान साढे ११ बजेदेखि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी भएका छन्।

साढे ६० किलो सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने जिकिरसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्‍मा अवरोध गरिरहेको छ।

अवरोधबीच आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसअघि सदनमा जारी अवरोध खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच छलफल भएको हो।

एमालेले उच्चस्तरीय समिति माग्दै गर्दा सत्तारुढ दलहरु भने त्यसमा सहमत भएका छैनन्। उनीहरुले हाल सक्रिय सरकारी निकाय नै सुन प्रकरण अनुसन्धानमा सक्षम रहेको बताइरहेका छन्।