अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर


काठमाडौं-भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर (शुल्क) लगाएको छ। प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो।

यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख छ। भारतका अनुसार त्यहाँ प्याजको मूल्य बढ्न थालेको छ। सोही मूल्यवृद्धि नियन्त्रण गर्न कर बढाइएको जनाइएको छ। प्याज निर्यातमा लाग्ने ४० प्रतिशत कर तत्काल लागू भइसकेको छ।

नेपालमा धेरैजसो भारतीय प्याजको दबदबा छ। भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने अनुमान गरिएको छ। भारतले यसअघि प्याज निर्यातमा कर लगाएको थिएन। अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँसम्म छ। नेपालले पनि चालू वर्षको बजेटमार्फत आलुप्याजमा भ्याट लगाएको छ। व्यवसायीहरुले यसको विरोध गरिरहेको बेला अहिले भारतले नै निर्यातमा कडाइ गरेको छ।

कालीमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले नेपालमा ९५ प्रतिशत भारतीय प्याजले माग धानिरहेको बेला निर्यातमा कर लगाउँदा उपभोक्ता महँगीमा पर्ने बताउनु भयो । नेपालले गत आर्थिक वर्ष ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको प्याज भारतबाट आयात गरेको थियो ।