अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करीमा सत्तारुढ नेताहरु जोडिएपछि प्रहरी अधिकारीको सरुवा गरियो: महेश बर्तौला

सुन तस्करीमा सत्तारुढ नेताहरु जोडिएपछि प्रहरी अधिकारीको सरुवा गरियो: महेश बर्तौला


काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु उक्त प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको बताउनु भयो ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग उहाँले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि स्वतन्त्र र निष्पक्ष रुपमा सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गर्नु भयो ।

सचेतक बर्तौलाले सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान दोहोर्‍याउनु भयो ।

‘उच्चस्तरीय छानबिन समितिको माग अझै बढेर गएको छ। तपाईंहरु सबैले देखिरहनुभएको छ। समाचार प्रकाशन, प्रशारण भइराखेको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीलाई एकपछि अर्को सरुवा गरिएको छ’, उहाँले भन्नुभयो, ‘अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरुतर्फ सोझिन थाल्यो, त्यसपछि सत्ता घटक प्रहरी अधिकारीलाई सरुवा गर्न लाग्यो। यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआआईबी निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न भइरहेको छैन।’ 

सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यस बमोजिम काम गरिराखेको देखिएको पनि उहाँले बताउनु भयो । 

सचेतक बर्तौलाले एमालेले संसद बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष रुपमा अघि बढाउन उच्चस्तरीय समिति बन्नुपर्ने बताउनु भयो।