अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकार फेरि संकटमा: भोलिको बैठकमा नआउने एमाले र राप्रपा सांसदको सूचना

कोशी सरकार फेरि संकटमा: भोलिको बैठकमा नआउने एमाले र राप्रपा सांसदको सूचना


विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्न भोलि कोशी प्रदेशसभाको बैठक बस्दै छ। मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने–दिन सोमबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरुले निवेदन दिएका छन् ।

दुवै विपक्षी दलहरुलाई पत्र लेख्दै थापाले आइतबार विश्वासको मत मागिरहँदा राप्रपाले आफ्ना सबै सांसदलाई विश्वासको मतका दिन प्रदेशसभामा अनुपस्थित गराउने तयारी गरेको हो। विपक्षी दलको यस्तो तयारीले थापा नेतृत्वको कोशी सरकार फेरि संकटमा परेको छ ।

९२ सदस्यीय कोशी प्रदेशको अंक गणित निकै अप्ठ्यारो रहेकाले भोलि के हुन्छ भन्ने चासो राजनीति वृतमा बढेको छ । सत्ता गठबन्धनसँग स्पष्ट बहुमत ४७ सदस्य रहे पनि बैठकको अध्यक्षता कसले गर्छ भन्ने विषयले कोशीको गणितलाई सकसपूर्ण बनाएको छ । प्रदेशसभाको सोमबारको बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले सांसदहरुलाई निर्देशन दिइसक्नु भएको छ ।

कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सवेदीले निवेदन दर्ता गराएको जानकारी दिए । उनीहरुमध्ये किशोरचन्द्र दुलाल भने अमेरिकामा छन् । अरु सबैले संसद सचिवालयमा उपिस्थित भइ निवेदन दर्ता गराएको अमात्यले बताउनु भयो ।

यस्तै राप्रपाका अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्माले संसदमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिनु भएको हो। सत्ता गठबन्धनले गयानन्द मण्डललाई मन्त्री बनाएपछि एमाले र राप्रपाका सांसदहरु प्रदेशसभामा ज्येष्ठ सदस्यको लाइनमा छन् । उनीहरुपछि नेपाली कांग्रेसका अमृत अर्यालको पालो आउँछ । अर्यालभन्दा ज्येष्ठ सदस्य रहेका उद्धव थापा मुख्यमन्त्री र कमलप्रसाद जवेगु मन्त्री भएकाले उनीहरुले सभा चलाउनु पर्दैन ।

नेकपा एमालेले कोशी प्रदेशमा उपसभामुखसहित  ८ सांसद अुनपस्थित गराउने तयारी गरेको छ। आफ्ना जेष्ठ सांसदहरुसहितलाई एमालेले अनुपस्थित गराउने तयारी गरेको हो।

उपसभामुख दनुवार बैठकमा अनुपस्थित भए प्रदेशसभा बैठक सञ्चालन अध्यक्ष मण्डलले गर्नुपर्छ। 

प्रदेशसभा बैठक चलाउन सभामुख-उपसभामुखलाई सहयोग गर्न गठित चार सदस्यीय अध्यक्षमण्डलमा एमालेकी मालती लिम्बु सबैभन्दा जेष्ठ हुनुुहुन्छ। उहाँसहित एमालेका सांसदहरुले पनि बैठकमा अनुपस्थित हुने पत्र पठाइसकेका छन्। 

कोशीमा थापा कांग्रेससहित नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

माओवादी नेतासमेत रहेका बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर बहुमत जुटाउँदै गत साउन १६ गते थापा नेतृत्वको सरकार बनेको थियो। 

गौतमले राजीनामा दिएपछि अहिले कोशीमा सभामुख छैनन्। उपसभामुख रहेकी सिर्जना दनुवारको काँधमा सभा सञ्चालनको जिम्मा छ। सभामुखले राजीनामा दिएकाले उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ। 

यदि एमालेले उपसभामुख दनुवार र जेष्ठ सदस्यसहित अन्य सांसद अनुपस्थित गराइदिएमा सभा सञ्चालनको जिम्मा कांग्रेसको काँधमा आउन सक्छ। कांग्रेसका प्रदेश सभा सदस्यले बैठक चलाउँदा बहुमत नपुगेर सरकार ढल्छ। 

प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ छ। तर उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ।  नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था छ ।

सभामुखले आफू र उपसभामुख नहुँदा बैठकको अध्यक्षता गर्न बढीमा पाँच सदस्यहरूलाई मनोनित गर्न सक्छन्। 

उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन्।

यदि सोमबार बस्ने प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित भए उक्त नियमावलीअनुसार सभाध्यक्षमण्डलका सदस्यले सभा सञ्चालन गर्नुपर्छ।

सभाध्यक्ष मण्डलका सदस्यहमा यसअघिनै चार जना मनोनित भएका छन्। जसमा नेकपा एमालेकी मालती लिम्बु, कांग्रेसका इसराइल मन्सुरी, नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट छन्।

सोमबारको बैठकमा अनुपस्थित हुने लिखित निवेदन एमाले सांसद लिम्बुले आइतबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसक्नु भएको छ ।

उता राप्रपाले पनि आफ्ना सांसदलाई बैठकमा अनुपस्थित गराउने तयारी गरिसकेको छ। यस्तोमा अध्यक्षमण्डलका सदस्य विष्ट पनि बैठकमा हुने छैनन्।

राप्रपाबाट बिष्ट र गोपालबहादुर विश्वकर्माले संसदमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका छन्।