अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकार: फेरि सर्वोच्च अदालत जाँदै एमाले

कोशी प्रदेश सरकार: फेरि सर्वोच्च अदालत जाँदै एमाले


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत पुर्‍याउन सत्ता पक्षले सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्यलाई पनि मतदान गराएपछि संविधानको हुर्मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ।

सोमबार उपसभामुख बिरामी भएर काठमाडौं आएपछि गठबन्धनले कांग्रेस सदस्य  ईस्राईल मन्सुरीले ज्येष्ठ सदस्यका रुपमा सभा चलाउनु भएको थियो । उहाँले आफू भोट हाल्न जाँदा सभामुखको आसनमा सत्तापक्षकै अर्की सांसद गीता तिमिल्सिनालाई राखेका थिए।

प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताउनु भयो।

उहाँले संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको बताउनु भयो । भोलि नै रिट दर्ता गराउने एमालेको तयारी छ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै नेता कार्कीले एमालेसँग अर्को विकल्प नभएको बताउनु भयो ।

‘प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरुद्ध हामी कोर्ट जान्छौं, हामीसँग अर्को विकल्प छैन’, नेता कार्कीले भन्नभयो ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले असंवैधानिकरूपमा सभाध्यक्षलाई प्रयोग गर्दै हिजो विश्वासको मत लिनु भएको थियो ।

प्रमुख प्रतिपक्ष रहेको नेकपा एमालेले विश्वासको मत माग्ने समयमा रोष्टममै पुगेर सत्ता पक्षलाई संविधानविपरीत हुनेगरी विश्वासको मत नपुर्‍याउन चेतावनी दिएको थियो। एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सर्वोच्च अदालतले यसअघि सभामुखको भूमिकाबारे विस्तृत व्याख्या समेत स्मरण गराउँनु भएको थियो । उहाँले संविधान मिच्ने कार्य भएमा एमाले उचित कदम चाल्न तयार नै रहेको चेतावनी समेत दिनु भएको थियो । उहाँले रोष्टमबाट आफूहरू पुन: सर्वोच्च अदालतको ढोका ढक्ढकाउन जाने र त्यहाँबाट बदर गराएर ल्याउने टिप्पणी गर्नु भएको थियो।

एमालेको उक्त चेतावनीको बेवास्ता गर्दै सत्ता पक्षले जेष्ठ सदस्यलाई मतदान गराएर बहुमत पुर्‍याएको छ। सभाअध्यक्षको कुर्सी खाली नगर्न सत्ता गठबन्धनकी प्रदेशसभा सदस्य गीता तिमल्सिनालाई सभाध्यक्षको जिम्मेवारी दिँदै मन्सुरीले मतदान गरेका थिए। मन्सुरी मतदान उठेपछि प्रमुख प्रतिपक्षले विरोध जनाएको थियो। विरोधकै बीचमा मतगणनाको परिणाम सुनाइएको थियो।