अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा सत्ता पक्षले गल्ती दोहोर्‍यायो: शेखर कोइराला

कोशी प्रदेशमा सत्ता पक्षले गल्ती दोहोर्‍यायो: शेखर कोइराला


विराटनगर-नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा सत्ता पक्षले गल्ती दोह्रोर्‍याएको बताउनु भएको छ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता डा.कोइरालाले अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको बताउनु भयो।

सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको डाक्टर कोइरालाले बताउनु भयो।

प्रदेश सरकारले न्यायालयको सम्मान नगरेको हो भन्ने प्रश्नमा उहाँले भन्नभयो, ‘अदालतले जुन निर्णय गरेको थियो, अस्ति त्यो निर्णय सही निर्णय थियो, फेरि हामीले दोह्रोर्‍यायौं सत्ताका लागि, फेरि अदालतले के निर्णय गर्छ हेरौं।’

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीलाई पनि मतदान गराएर विश्वासको मत लिनु भएको थियो।

पार्टी र सत्ताको राजनीतिक फरक हुने बताउँदै उहाँले सत्ताको राजनीति गलत हुँदा अदालतले सच्याउने बताउनु भयो। उहाँले भन्नुभयो, ‘राज्यसत्ता कमजोर भएको अवस्थामा यस्ता कुराहरु हुँदै जान्छन् । घटनाहरु घट्दै जान्छन्, हामी गलत काम गर्दै जान्छौं, अनि अदालतले त्यसलाई तिमीहरु गलत छौ भनेर पुष्टि गरिरहन्छ।’

कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा पनि सरकार गठन हुन नसक्ने बताउँदै उहाँले उपधारा ५ मा पुगेपछि सरकार गठन हुने अवस्था देखिएको बताउनु भयो ।