काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले साउन ३ गतेको सुन तस्करी प्रकरणमा छानबिन आयोग रंगमञ्च उठेपछि आएको भन्दै कटाक्ष गर्नु भएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले ठूलो मात्रामा सुन बाहिर पठाएर एक क्विन्टल सुन समातिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो फगत नौटंकी हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरेपछि त्यसको प्रतीक्षामा छौं ।’
लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि संसद अवरोध भएको बास्कोटाले बताउनु भयो। उहाँले स्टन्ट छाडेर सत्यतथ्य कुरा बाहिर ल्याउन चुनौती दिनु भयो ।
उहाँले विभिन्न देशबाट तस्करी गरेर त्रिभुवन विमानस्थल हुँदै भित्र्याइएको २३ क्विन्टल सुन बाहिर (अन्य देश) पठाइएको आरोप पनि सरकारमाथि लगाउनु भयो।
‘आउन त आयौ तिमी रंगमञ्च उठेपछि आयौ जस्तो भयो। हामीले प्राप्त गरेका सूचनामा करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो। बल्ल एक क्विन्टल सुन समातियो’, उहाँले भन्नुभयो, ‘त्यो पनि जोख्दा ६० केजी मात्रै भयो क्यारे !’
नेता बास्कोटाले जनयुद्धको समयमा पूर्वमा हल्ला गरेर माओवादीले पश्चिम हानेको बताउँदै पशुपतिमा सुनको जलहरी र ३३ किलो सुनको हल्ला संसदमा चलाएर एयरपोर्टबाट तस्करीको अनेकौँ क्विन्टल सुन छिराएर बाहिर पठाएको दाबी गर्नु भयो ।
सत्तापक्षले रुखको हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । स्टन्टबाजी होइन जरासम्म पुग्ने हिम्मत देखाउनुस् । सत्तापक्षका सांसदले फलानो विपक्षी दलको नेता फलानो मितिमा जेल जान्छ भन्ने ? लैजानुस् न पाता कसेर,कसले रोकेको छ ? ललकार्ने,तर्साउने किन ? यस्ता हावादारी वाइयात कुरा नगर्नुस्, जनताको नेताको अपमान गर्ने कुरा स्वीकार्य छैन।
नेता बास्कोटाले त्यसक्रममा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाल र नेपाली कांग्रेसका रामहरि खतिवडाहरुप्रति लक्षित गर्दै जथाभावी नबोल्न पनि चेतावनी दिनु भयो । उहाँले उनीहरुले नामै तोकेर नेता थुन्छौँ भनेको तर्फ लक्षित गर्दै अहिलेसम्मका सबै फाइल खोलेर देखाउन पनि चुनौति समेत दिनु भयो ।
उहाँले भन्नुभयो, ‘सत्तापक्षले रुखको हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । स्टन्टबाजी होइन जरासम्म पुग्ने हिम्मत देखाउनुस् । सत्तापक्षका सांसदले फलानो विपक्षी दलको नेता फलानो मितिमा जेल जान्छ भन्ने ? लैजानुस् न पाता कसेर,कसले रोकेको छ ? ललकार्ने,तर्साउने किन ? यस्ता हावादारी वाइयात कुरा नगर्नुस्, जनताको नेताको अपमान गर्ने कुरा स्वीकार्य छैन।’
नेता बास्कोटाले हालै प्रधानमन्त्रीले बालुवाटारमा सम्पादकहरुलाई बोलाएर कसले निर्णय गरिरहेको छ आफूलाई थाहा हुन छाडेको भनेर लाचारी व्यक्त गरेकोमा समेत आपत्ति जनाउनु भयो।
प्रतिक्रिया