मकवानपुर– खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन। टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन। उहाँको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन्।
बिहानको खाजानास्तापछिको उहाँको दिनाचार्य हुन्छ फलामसँग जुध्ने । मकवानपुरको बकैया गाउँपालिका-५ निवासी पदललाल ७७ वर्षको हुनुभयो। तेह्र वर्षको उमेरदेखि पुर्खौली पेसालाई अङ्गाल्दै आउनुभएका पदमलालको छ दशकभन्दा बढी समय आरनमा फलाम पिटेर बितेको छ।
गाउँघरमा खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएपछि आरन पेसा सङ्कटमा पर्न थालेको पदमलालले बताउनुभयो। तेह्र वर्षको कलिलो उमेरदेखि आरन पिट्ने काम गरेको अनुभव सुनाउँदै उहाँले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको बताउनुभयो । पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा सङ्कटमा पुग्न थालेको पदमलालको भनाइ थियो।
“आरनबाट दैनिकीसमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न रुचाउदैनन्। पढाइ तथा रोजगारीका लागि अन्यत्र जानेको जमात बढी छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म आरनबाटै चार जनाको परिवारको जीविकोपार्जन भइरहेको छ। पुर्खौली पेसा भएकाले पनि छाड्न मन लाग्दैन ।” आफूले अरु काम नजानेको र बाबुबाजेले पनि यही काम गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको उहाँको भनाइ थियो।
पदमलालले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी, दाउलगायत सामग्री परम्परागत रुपमा बनाउने गर्नुहुन्छ । पछिल्लो समय कोइला नपाउने, पाए पनि महँगोमा पाइने हुँदा काममा अप्ठ्यारो भएको उहाँले बताउनुभयो । पहिलेपहिले काम गरेबापत मकै, चामल भाग लिने चलन रहेको बताउँदै अहिले त्यो चलन हराउँदै गएपछि नगद लिने गरेको पदमलालले सुनाउनुभयो।
“आँखाले देखुञ्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ । गाउँ विकास भयो, मेसिनबाट खेतीपाती लगाउन थाले । तैपनि केही चिज आरनमै बनाउन आउँछन्, खुसी लाग्छ”, उहाँले भन्नुभयो, “बजारमा फलामका काम गर्ने ग्रील उद्योग खुलेका छन् । त्यसैले पनि आरन आउन छाडेका हुन् ।” प्रविधिको विकाससँगै पेसालाई बदल्न नसक्दा गाउँका कतिपयले आरन पेसा बन्द गरेर अन्य पेसा गरिरहेका उहाँले बताउनुभयो ।





प्रतिक्रिया