अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्घीयतालाई बलियो बनाउनुपर्छ: पद्मा अर्याल

सङ्घीयतालाई बलियो बनाउनुपर्छ: पद्मा अर्याल


लुम्बिनी-नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताउनुभएको छ।

नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताउनुभयो ।

पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा सचिव अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गर्नुभयो । उहाँले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताउनुभयो।

उहाँले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राख्नुभयो । “सर्वसम्मत भनेको सहमति र समझदारी हो”, उहाँले भन्नुभयो, “सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।” एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ। अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो ।

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार  प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ। अधिवेशनमा महिला ३३ प्रतिशत पुर्‍याउने प्रयासमा रहेको बताउँदै उहाँले उत्पिडित, महिला, युवाको फरक(फरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको जानकारी दिनुभयो।