अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडका विद्यालयको सय मिटर दुरी भित्र सुर्ती र मदिरा बेच्न नपाइने

बिर्तामोडका विद्यालयको सय मिटर दुरी भित्र सुर्ती र मदिरा बेच्न नपाइने


बिर्तामोड-झापाकाे बिर्तामोड नगरपालिकाले वडा तहबाट विद्यालयको सय मिटर वरपर सुर्ती (मधु र गुट्का) र मदिराजन्य पदार्थ जस्ता बिक्रीमा रोक लगाउने नीति अघि सारेको छ।

बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई ध्यानमा राखेर नगरपालिकाले वडास्तरबाट विद्यालय वरपर त्यस्ता पदार्थको बिक्रीमा रोक लगाउने नीति लिएको हो ।

शुक्रवार बिर्तामोड वडा नम्वर–२ बाट विद्यालय वरपर सुर्ती र मदिराजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग नियन्त्रण सम्बन्धी अभियान सुरु भएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियानको उद्घाटन गर्नु भयो ।

अभियानको शुभारम्भ गर्दै नगर प्रमुख प्रसाईले बालबालिकालाई कुलतमा फस्नबाट जोगाए मात्रै अनुशासित नागरिक उत्पादन हुने बताउनु भयो । उहाँले भन्नभयो, ‘उमेर बढ्दै गएका बालबालिका कुलतमा फसेर बिग्रिए भने सडक राम्रो बनाएर मात्र हुँदैन्।’

वडाध्यक्ष किशोरकुमार पौडेलले अब वडाको सार्वजनिक तथा संस्थागत विद्यालयको सय मिटर वरपर सुर्ती र मदिराजन्य पदार्थ बेच्न नपाइने बताउनु भयो । उहाँले यदि कसैले बेचेमा प्रचलित कानुन अनुसार कार्वाही गर्ने बताउनु भयो।

उज्यालो चारपाने बाल क्लवको समेत सहभागितामा वडाले यो अभियान सञ्चालन गरेको हो । अभियान अन्तरगत विद्यालयको सय मिटर वरपरका व्यवसायीलाई सुर्ती र मदिराजन्य पदार्थ नबेच्न शुक्रवार सार्वजनिक रुपमा अनुरोध गरिएको छ।

वडा सदस्य, कार्यपालिका सदस्यहरु, वडा सचिव, बाल क्लवका पदाधिकारी, विद्यालयका शिक्षक र सञ्चारकर्मी सम्मिलित टोलीले विद्यालय वरपरका पसल पसलमा गएर यस्तो अनुरोध गरेका हुन्।