अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक परिवर्तनमा रोल्पाको योगदान महत्वपूर्ण: प्रधानमन्त्री दाहाल

राजनीतिक परिवर्तनमा रोल्पाको योगदान महत्वपूर्ण: प्रधानमन्त्री दाहाल


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा रोल्पाको योगदान र त्यहाँको जनताको साहसको उच्च प्रशंसा गर्नुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले रोल्पाको विकास निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो ।

“विकासमा पछाडि परेका क्षेत्रलाई मूल प्रवाहमा ल्याउन सरकारले महत्व दिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो। आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि नै सामाजिक न्याय, सुशासन र सार्वजनिक सेवालाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले यसबाट जनतामा सकारात्मक प्रवाह भएको बताउनुभयो। केही हुँदैन भन्ने निराशावादी भाष्य चिर्न सरकार प्रयत्नशील रहेको उहाँको भनाइ थियो। 

प्रधानमन्त्री दाहालले कोही नछूटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले स्पष्ट रुपमा प्रहरी प्रशासनलाई निर्देशन दिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो– “यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन। मेरो पार्टीको त के कुरा।”

दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा सकारात्मक प्रभाव परेको उल्लेख प्रधानमन्त्री दाहालले भ्रष्टाचार र अनियमितताका सन्दर्भमा कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम नगरेको स्पष्ट पार्नुभयो। उहाँले आफ्नो या पराय भनेर विभेद नगरेको स्पष्ट पार्दै सबै भ्रष्टाचारमा संलग्नलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताउनुभयो।

प्रधानमन्त्री दाहालले नेपालमा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सद्भावमा खलल पार्ने वा एक अर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने स्पष्ट पार्नुभयो।

बहुभाषिक, बहुजातीय, विविधता बोकेको नेपालमा सदियौँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनता आपसी सहकार्य तथा गहिरो सद्भावका साथ मिलीजुली बस्दै आएको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले अनेकतामा एकता नेपाली मात्रको विशिष्टता नेपाली मात्रको आधारभूत चरित्र भएको बताउनुभयो। सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवद्र्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो दरिलो भई साँचो अर्थमा राष्ट्रियता बलियो हुने उहाँले उल्लेख गर्नुभयो।