अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेस प्रदेश कमिटीको अधिवेशनको प्रक्रिया शुरू

एमाले मधेस प्रदेश कमिटीको अधिवेशनको प्रक्रिया शुरू


 नेकपा एमाले मधेस प्रदेश समितिको यही असोज ५ र ६ गते अधिवेशन हुँदैछ। सो अधिवेशनको निम्ति तयारी तीब्र पारिएको छ।

एमालेले मधेस प्रदेश अन्तर्गत रहेका विभिन्न कमिटीहरुको अधिवेशन धमाधम सम्पन्न गरिरहेको मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मधेस प्रदेश कमिटीको अधिवेशनका प्रतिनिधि चयनको कामलाई पनि अगाडि बढाएको छ।’

अध्यक्ष यादवले प्रदेशको अधिवेशनका लागि भदौ २६ गते प्रतिनिधि छनौट गर्न लागिएको बताउनु भयो। प्रतिनिधि छनौट पालिका तहबाट हुने जनाइएको छ तर दलित र मुस्लिम समुदायका लागि जिल्लालाई एकाई मानिएको अध्यक्ष यादवले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दलितर मुस्लिमका लागि ५-५ जना प्रतिनिधि छान्नु पर्ने मधेस प्रदेश कमिटीले जारी गरेको निर्देशनमा उल्लेख छ। पाँच जनामध्ये एकजना महिला, एकजना युवा अनिवार्य हुनुपर्ने भनिएको छ। युवाको उमेर ४० वर्ष भन्दा मुनिको हुनुपर्ने निर्देशनमा उल्लेख छ।’

अध्यक्ष यादवले भन्नुभयो, ‘पालिकास्तरबाट छनौट हुने प्रतिनिधिमा खुल्ला, महिला, (४० वर्ष मुनिका) युवा र अन्य क्षेत्रको समावेशीतालाई हामीले विशेष ध्यान दिएका छौँ । युवाका लागि नागरिकताको प्रतिलिपी अनिवार्य गरेका छौँ।’

अन्य पार्टीबाट एमाले पार्टीमा प्रवेश गरेकालाई प्राथमिकतामा राख्ने अध्यक्ष यादवले बताउनु भयो। सबै जिल्लाले जिल्ला कमिटी वा सचिवालयको बैठकबाट भाद्र १५ गतेभित्र प्रतिनिधि छनौटको लागि प्रत्येक पालिका र दलित, मुस्लिम समुदाय क्षेत्रका लागि बुद्धिजीवी र पेशाकर्मीबाट प्रमुख अधिकृत र दुईजना अधिकृत रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्देशनमा उल्लेख छ।

भदौ १८ गते पालिका, दलित र मुस्लिम समुदायका लागि गठन भएका निर्वाचन समितिको बैठकबाट निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ। त्यस्तै भदौ २० गतेदेखि २२ गतेसम्ममा प्रत्येक पालिका कमिटीले प्रतिनिधि छनौट सम्बन्धी कार्यक्रम र कार्यतालिका हरेक सदस्यलाई आधिकारिक रूपले जानकारी गराउनु पर्ने छ।
प्रतिनिधि मनोनयनका लागि पाँच सय रुपैयाँ दस्तुर तोकिएको छ। प्रतिनिधि चयन गर्दा कुनै विवाद आएमा जिल्ला इन्चार्जको नेतृत्वमा पालिका, इन्चार्ज र जिल्ला कमिटी अध्यक्षको अनुगमन समितिले समाधान गर्ने निदेशन पत्रमा उल्लेख छ ।

अनुगमन तथा निर्देशनका लागि एमालेका नेता लिलानाथ श्रेष्ठको संयोजकत्वमा जुली कुमारी महतो, अच्यूत मैनाली र रामअवतार यादव रहेको विशेष समिति गठन गरिएको छ। प्रतिनिधि निर्वाचनको परिणाम घोषणा पश्चात प्रदेश कमिटीले तयार गरेको प्रतिनिधि विवरण फारम भर्नुपर्ने हुन्छ, जसमा प्रमुख निर्वाचन अधिकृत र पालिका कमिटी अध्यक्षको हस्ताक्षरसहित जिल्ला अध्यक्षले प्रमाणीकरण गर्नुपर्ने हुन्छ।