काठमाडाैं-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जातीय पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अभिव्यक्ति आपत्तिजनक रहेकाे बताउनु भएकाे छ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै प्रमुख सचेतक गिरीले जातीय र सामाजिक सद्भाव भड्काउने काममा प्रधानमन्त्री प्रचण्ड नै स्वयंम् संलग्न भएकाे बताउनु भयाे।
उहाँले भन्नुभयाे, ‘पछिल्लो समय सम्माननीय प्रधानमन्त्रीज्यूले जुन प्रकारले अभिव्यक्तिहरू दिनुभएको छ- म जातीय राज्यको पक्षमा छु, तपाईंहरू जाग्नुस्-उठ्नुस्, तपाईंहरूले मलाई बल दिनुपर्ने बेला आएको छ, बल दिनुस्, म यो मुलुकमा जातीय राज्य स्थापित गर्छु, हाम्रो पार्टीलाई बहुमत दिनुस्, म यो देशमा जातीय राज्य स्थापित गराई छोड्छु जस्ता अभिव्यक्तिहरू निरन्तर रुपमा दिँदै आउनुभएको छ, यो अभिव्यक्ति असंवैधानिक त छँदैछ, सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाइबीच आपसमा विद्वेष फैल्याउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिति सृजना गर्ने र मुलुकमा ठूलाठूला त्रादसीपूर्ण स्थिति सृजना गर्ने काममा स्वयम् प्रधानमन्त्रीले मलजल गर्ने काम गरिरहनुभएको छ।’
देशकाे जिम्मेवार पदमा बसेकाे व्यक्तिकाे अभिव्यक्तिकाे आफूहरुले निन्दा र भर्त्सना गरेकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति यसरी आपसी दाजुभाइहरूको बीचमा विद्वेष र घृणा फैल्याउने काम यो कुनै पनि हालतमा स्वीकार्य छैन, यसमा हामी गम्भिरतापूर्वक आपत्ति व्यक्त गर्न चाहन्छौं र यो भनाइको निन्दा पनि गर्न चाहन्छौं।’
प्रतिक्रिया