काठमाडौँ-जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो ।
विद्युतिय चुरोट (भेप) मार्फत भएको करिव ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो ।प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिन दिएको छ ।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उहाँका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया