विराटनगर-विराटनगर महानगरपालिकाले संस्थागत विद्यालयले दिने १० प्रतिशत छात्रवृत्तिको लागि प्रवेश परीक्षा लिएको छ ।
महानगरले शनिवार कक्षा ११ का लागि छात्रवृत्तिको प्रवेश परीक्षा लिएको हो।
नेपाल सरकारको नियमअनुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुटाउनुपर्ने व्यवस्था छ । त्यही अनुसार महानगरले आफैँले प्रवेश परीक्षा लिएको मेयर नागेश कोइरालाले बताउनु भयो ।
महानगरले लिएको छात्रवृत्तिमा १ हजार १५० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६९८ जनाले छात्रवृत्ति पाउने छन् ।
छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षामा महानगर क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन गर्ने १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । यस अघि महानगरमा रहेको संस्थागत विद्यालयले छात्रवृत्ति नदिएको गुनासो आउने गरेको थियो ।
सर्वसाधारणको गुनासोको कारण यस पटकबाट महानगर आफैले प्रवेश परीक्षा लिएर विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तयारी गरेको हो ।
महानगरका मेयर कोइरालाले निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति नदिएको गुनासो बढेपछि महानगर आफैले परीक्षा लिएर विद्यार्थी पठाउने तयारी गरेको बताउनु भयो ।
प्रतिक्रिया