अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीको मतदान सकियो, मतगणना केही बेरमा

एमाले लुम्बिनीको मतदान सकियो, मतगणना केही बेरमा


रुपन्देही-नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ। लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत कुल १ हजार ४ जना मतदाता रहेकोमा ९६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ।

बिहान ८ बजे सुरु भएको मतदान अवधि दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो। तर १ बजेभित्र हलभित्र छिरेका प्रतिनिधिले मतदान गर्न २ बजेसम्म लागेको निर्वाचन समितिले जानकारी दिएको छ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार अव केही बरेमा मतगणना सुरू हुनेछ भने आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ।

प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदैछ।

सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा  १३ जनाबीच प्रतिस्पर्धा छ।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीबीच प्रतिस्पर्धा छ।

महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्।

त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसिले उम्मेदवारी दिएका छन्।

शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास भन्दै सोमबार दिउँसोसम्म निर्वाचनको प्रक्रिया लम्बाइएको थियो।

सहमति जुट्न नसकेपछि साँझ सातबजेदेखि मतदान प्रक्रिया सुरू गर्ने बताइए पनि मतदानको लागि आवश्यक तयारी पूरा नभएपछि राति १० बजे सूचना गरेर मंगलबार बिहान ८ बजेका लागि समय सारिएको थियो।