काठमाडौँ-नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताउनु भएको छ।
मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताउनु भएको हो।
उहाँले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरूको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी राजनीतिक पार्टीहरूलाई पारदर्शी र जबाफदेही बन्नुपर्ने बताउनु भयो।
समितिले दलको खर्चको स्रोत, पार्टी सञ्चालन खर्च हेर्नुपर्ने बताउनु भयो। भट्टराईले दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरुजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुनः मन्त्री बन्ने/नबन्ने, टिकट दिने/नदिने सम्बन्धित दलले निर्णय गर्ने बताउनु भयो।
उहाँले पार्टीमा काम गरेपछि त्यो व्यक्तिले गरेको कामको प्रतिवेदन दललाई बुझाउनुपर्ने बताउनु भयो। सांसद भट्टराईले समितिले निर्णयकर्ता र कार्यान्वयन कर्तालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताउनु भयो।
उहाँले आर्थिक कार्यविधि ऐनमा समस्या भए सरकारले संशोधन गर्नुपर्ने बताउनु भयो। उहाँले लेखा सुशासनसँग जोडिएको समिति भएकाले आवश्यक परे कारबाही गर्नेसम्मको सिफारिस र निर्देशन दिइनुपर्ने बताउनु भयो।
प्रतिक्रिया