झापा-झापाको मेचीनगर नगरपालिका-७ मदनबस्तीकी १२० वर्षीया पोहानी राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने परिवारले दाबी गरेको छ।
उहाँका छोरा फतलाल राजवंशीले आमाको उमेर १२० वर्ष पुग्नु भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘तर नागरिकता प्रमाणपत्रका अनुसार आमाको उमेर ८२ वर्ष मात्र हुन्छ।’
नागरिकता बनाउनेले कम उमेर लेखिदिएका कारण त्यस्तो भएको छोरा फतलालले बताउनु भयो। उहाँले आफ्नी आमा १२० वर्ष पुगिसकेको बताउनु भयो ।
नागरिकतामा पोहानीको जन्ममिति उल्लेख छैन। २०४० फागुन १४ गते झापा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको उहाँको नागरिकतामा ४२ वर्ष उमेर उल्लेख गरिएको छ।
पोहानी जेठो छोरासँग सानो झुपडीमा बस्दै आउनु भएको छ। उहाँ सुत्ने ओछ्यानबाट आँगन र नजिकैको बाटोसम्म विस्तारै हिँडडुल गर्न सक्ने छोरा फतलालले बताउनु भयो । पोहानीका पाँच छोरा र तीन छोरीमध्ये हाल तीन छोरा र एक छोरी जीवित छन् ।
यसअघि सप्तरीको तिरहुन १ का १३१ वर्षीय रखु बहरखेर नेपालका ज्येष्ठ नागरिक थिए । उहाँको २०७५ चैत ३० गते निधन हुनु भएको थियो ।





प्रतिक्रिया