अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुवास नेम्वाङको स्मृतिमा एमालेले असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी गर्ने

सुवास नेम्वाङको स्मृतिमा एमालेले असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी गर्ने


काठमाडौँ-नेकपा (एमाले)ले संविधान सभाका अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ। 

पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ। विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुनेछ भने विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने छ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ भने अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्ष जानुहुने छ।

जसअनुसार, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानुहुने छ। कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जानुहुने भएको छ। 

सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा. भीष्मनाथ अधिकारीले बताउनुभयो।