अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिजो जारी भएको अपानि कोत पर्वजस्तै छ: झलनाथ खनाल

हिजो जारी भएको अपानि कोत पर्वजस्तै छ: झलनाथ खनाल


काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बिहीबार जारी भएको पार्टीको अन्तरपार्टी निर्देशनलाई ‘कोत पर्व’को संज्ञा दिनु भएको छ।

केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालयका कुनै पनि निर्णयले नचिन्ने अन्तरपार्टी निर्देशन जारी गरिएको भन्दै उहाँले यसलाई कोत पर्वको संज्ञा दिनु भएको हो।

नेता खनालले भन्नुभयो, ‘अन्तरपार्टी निर्देशनबारे मलाई हिजो मात्रै थाहा भयो। कसले जारी गर्‍यो, कहाँबाट जारी भयो, कसरी र कुन प्रक्रियाद्वारा जारी गरियो मलाई केही पनि थाहा छैन। यो एकदमै खतरनाक कुरा हो। यसमा कसैको पनि सहमति छैन। पार्टीको कुनै कमिटीले गरेको निर्णय हुँदै होइन । म जत्तिको नेतालाई पनि थाहा नदिई अपानि जारी हुनु भनेको मेरा लागि आठौं आश्चर्य हो। सहमतिबिना अपानी जारी भएको छ, त्यसबारे छलफल गर्दैछौं ।’

पार्टी जीवनमा अपानिको विशेष महत्त्व हुने, त्यसले पार्टीलाई जीवन्त, क्रियाशील राख्ने र निर्णयहरूको सञ्चार गर्ने भन्दै हिजो जारी गरिएको अपानिलाई कमिटीगतभन्दा पनि आफूखुसी जारी गरिएको रूपमा बुझ्नुपर्ने उहाँले बताउनु भयो।

‘अपानि संस्थागत रूपमा जारी गरिनुपर्छ। हिजो जारी गरिएको अपानि त करिबकरिब कोत पर्व जस्तै छ। त्यसकारण युवा र पार्टीका इमान्दार नेता, कार्यकर्तामा व्यापक असन्तुष्टि सिर्जना गरेको छ, विद्रोहको भाव पैदा गरेको छ,’ उहाँले भन्नुभयो।

व्यापक असन्तुष्टि सिर्जना गर्ने गरी अपानि कसरी जारी भयो भनेर आफूले महासचिव घनश्याम भूसालसँग पनि जवाफ मागेको खनालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले अपानि जारी भएको विषयमा महासचिवसँग पनि कुरा गरिसकेको छु। उहाँले असोज १ गते सचिवालय बैठक राखेर छलफल गर्ने भन्नुभएको छ। हामी त्यही बैठकको प्रतीक्षामा छौं।’

एकीकृत समाजवादीमा कार्य विभाजनप्रति असन्तुष्टि छ। राजु गुरूङले केन्द्रीय परिषद् सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उक्त पद अस्वीकार गर्नुभएको छ।

दैलेखको सहइन्चार्ज तोकिएकी सावित्री मल्ल, युवा संघका महासचिव दीपक जिएमले पनि पार्टीमा निष्क्रिय रहने घोषणा गरेका छन्।

नेकपा एसले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्दे अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको थियो । कार्यविभाजनलाई लिएर पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मले तीव्र असन्तुष्टि देखाएका छन् ।