अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थारु समुदायले अटवारी पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

थारु समुदायले अटवारी पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा


राँझा-बाँकेका थारु समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ ।  भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् । 

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारु अगुवा चन्द्र थारूले बताउनुभयो ।

उहाँका अनुसार व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग बर्तालुले खाने चलन रहेको छ ।  

अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा बर्तालुले ग्रहण गर्छन् । यो पर्व थारु समुदायको दशैँपछिको ठूलो पर्वका रूपमा रहेको थारूको भनाइ छ ।

थारु समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको थारु अगुवा कृष्ण चौधरीले बताउनुभयो ।

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लाका थारु समुदायलाई आइतबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विगतमा थारु बाहुल्यता रहेका स्थानीय तहले स्थानीय बिदा दिने गरे पनि अहिले प्रदेश सरकारले नै पर्व मनाउन बिदा दिनु सकरात्मक रहेको बाँकेका थारु अगुवा एवं राप्ती सोनारी गाउँपालिका पूर्वअध्यक्ष लाहुराम थारूले बताउनुभयो ।